तमुवान—मगराँत संघर्ष समितिद्धारा ससफो अध्यक्ष यादवलाई ज्ञापनपत्र

पोखरा, २८ जेठ

प्रदेश नं. ४ को नामाकरण तमुवान—मगराँत हुनुपर्ने लगायतका सातबुँदे मागसहित आन्दोलित तमुवान—मगराँत संघर्ष समितिले संघीय समाजवादी फोरमका अध्यक्ष यादवलाई ज्ञापनपत्र बुझाएको छ।

तमुवान—मगराँत संघर्ष समितिकी संयोजक, तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले नेपाल सरकारका उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहनुभएका फोरम अध्यक्ष यादवलाई ज्ञापनपत्र बुझाउनुभएको हो।

संघर्ष समितिका सदस्यहरुसहित ज्ञापनपत्र बुझाउनुभएकी संयोजक तमुले पहिचानसहितको संघीयताको नामाकरण, विभेदमा पारिएका वर्ग समुदायका हकाधिकारका लागि सरकारभित्र र पार्टीका शीर्ष नेताहरुसँग पहल गर्न संघीयताको सुत्रधार, पहिचानवादी नेता उपेन्द्र यादवलाई आग्रह गर्नुभएको थियो।

ज्ञापनपत्र बुझ्दै अध्यक्ष यादवले संघीयताको मर्म र राज्य पुनसंरचनाको आधारमा १०+१ पहिचानसहितको संघीयता तमुवान, मगराँत लगायतका प्रदेशहरु भिन्दा भिन्दै हुनुपर्नेमा पहिचान विरोधीहरु पहिचान भन्ने वित्तिकै जातिय संर्किणताको १ हजारको भोल्ट लाग्ने गरेको देख्दा दुख लागेको बताउनुभयो।पहिचान साँचो अर्थमा राष्ट्रियता हो, यिनै राष्ट्रियताहरुको आत्मसाथ गराउन तमुवान—मगराँतका जनताले दवाव दिनुपर्ने बताउनुभयो।

नामाकरणको अधिकार प्रदेश संसदलाई दिए पनि जनताको शक्ति  सर्वशक्तिमान भएकाले संघर्ष समिति सशक्त ढंगले अघि बढ्नुपर्ने सुझाव दिनुभयो। प्रदेश नं. ४ मा मुख्यमन्त्री गुरुङ नै हुनुहुन्छ, संसदमा करिब आधा जति आदिवासी जनजाति प्रदेश सभा सदस्य रहेकाले आदिवासी जनजातिको पहिचानको आवाजलाई उहाँहरुले बोल्नुपर्दछ, तमुवान—मगराँत नामाकरणको पक्षमा उभिनुपर्दछ, अध्यक्ष यादवको भनाई थियो।

कार्यक्रममा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका प्रदेश अध्यक्ष दलबहादुर गुरुङले पहिचानको आन्दोलनका नेता यादवलाई आफ्ना मागहरुका बारेमा गम्भीर भएर सोच्न र साथ सहयोगको आग्रह गर्नुभयो भने कार्यक्रमको संचालन संघर्ष समितिका सचिव आसबहादुर गुरुङले गर्नुभएको थियो।

उक्त अवसरमा सरकारमा सहभागी भई पहिलो पटक पोखरा आउनु भएका संघीय समाजवादी फोरमका अध्यक्ष, उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई खादा, फेटा र भाङग्रा लगाइदिदै तमुवान—मगराँत संघर्ष समितिकी संयोजक कर्म तमुले स्वागत सम्मान गर्नुभएको थियो।

SHARE