तनहुँका बुक्कुल गन्धर्व धेरैजसो ठमेलमा भेटिन्छन् । उनी बिहान ९ बजेतिर एउटा सारङ्गी गलामा भिडेर ठमेलका सडकपेटीमा पाइला गन्न थाल्छन् । दिनभर त्यहीँ बित्छ । सारङ्गी रेट्छन् । धुन निकाल्छन् । अनि मन पगाल्छन् । मन पग्लिनेले केही पैसा दिन्छन् । त्यही पैसा लिएर राति ९ बजेतिर कोठा फर्किन्छन् । उनको परिवारको चुल्हो त्यही पैसाले बलेको छ । त्यही पैसाले उनका दुई सन्तानको स्कूल कलेजमा भविष्य कोरिदै छ । कहिलेकाहीँ उनी धुन निकाल्ने सारङ्गी पनि बेच्छन् । यो दैनिकी उनको दशकौँ भइसक्यो । एकपटक उनी सांस्कृतिक संस्थान नाचघरको जागिरे पनि भए । तर ‘जिएम’ फेरिएपछि उनी जागिरबाट निकालिए ।
प्रस्तुत छ, उनै बुक्कुल गन्धर्वसँग खुल्लापत्रका लागि गरिएको कुराकानीको अंश उनकै शब्दमा ।
सारङ्गी बजाउनेलाई अपहेलाना
मेरो बुबा कस्तो हुनुहुन्थ्यो मैले देख्न पाइनँ । आमाले हुर्काउनुभयो । हाम्रो खेती किसानी थिएन । सारङ्गी बजाउथ्यौँ । अरूको घरमा जान्थ्यौँ । भएकाहरूले केही दिन्थे । नभएकाहरूले त कहाँबाट दिनु र ? कतिपय बेला नमिठो शब्दहरू पनि सुन्नुपथ्र्यो । सारङ्गी बजाउने भनेर अपहेलना पनि गर्थे । ‘काम गर खाउ’ भन्थे कतिपयले । त्यतिखेर अहिले जस्तो बाटोघाटो थिएन ।
घरमा खानाको धौधौ भएपछि घरबाट निस्किएँ । मुग्लिन पुगेँ । मुग्लिनको एउटा सानो रेस्टुरेन्टमा काम गरेँ । रेस्टुरेन्टको दिदीले मलाई अलि ‘अछुतो’ व्यवहार देखाउन थाल्नुभयो । त्यसपछि पो म गन्धर्वको बच्चा रहेछु भन्ने लाग्यो । म भगवान शिवशक्तिको बच्चा हो भन्ने लाग्यो । म सङ्गीतकारको बच्चा हो भन्ने लाग्यो । मैले पुर्खा र जन्मजात नै सारङ्गी पाएको हो भन्ने लाग्यो । त्यो रेस्टुरेन्टमा काम गर्न छोडेर अर्को सहर गएँ । ‘नाइट’ गाडी चढेर गएँ । बिहान ब्यूँझिएर हेर्दा त्यो सहर चिनिनँ । यता हेर्छु, उता हेर्छु अहँ चिन्दिनँ त ! मुग्लिन भए त चिन्नुपर्ने ! मान्छे पनि अलि अलि चिन्नुपर्ने । चिन्दै चिनिनँ । पछि थाहा भयो म त धरान पो पुगेको रहेछु ।
आयरल्याण्ड छाडेँ
बाटोमा सारङ्गी रेट्दै गाउँदै बसिरहेको थिएँ । एक जना ‘कुइरे’ आए । मलाई खै किन हो बाख्रा फार्ममा काम गर्न कि किन भनेर आयरल्याण्ड लिएर गए । मलाई त्यतिखेर न अङ्ग्रेजी आउँथ्यो न पढ्न नै जानेको थिएँ । म आयरल्याण्ड पुगेँ ।
त्यहाँको एउटा रमाइलो किस्सा छ । ती आइरिस व्यक्तिसँग लाङटाङ घुम्न जाँदा मैले अमला खाएको थिएँ । आयरल्याण्डमा एक दिन सिमसिम पानी प¥यो । त्यतिखेर उनले ‘अम्ब्रेला’ भनेका रहेछन् । मैले ‘अमला’ सुनेँ । ‘यहाँ पनि मलाई अमला खा भन्दैछ’ भनेर मैले ‘खै कहाँ छ अमला’ भनेर खोज्न थालेँ । बल्ल उनले छाता देखाउँदै ‘अम्ब्रेला’ भने । त्यही भएर म जोसुकै होस् पढ्न चाहिँ पढ्नु है भन्छु । सारङ्गी बजाउने होस् वा अर्को जोसुकै होस्, पढ्नुपर्छ । जान्नुपर्छ ।
आयरल्याण्ड बसेको भए राम्रै हुन्थ्यो होला । तर खै बस्न मन लागेन । किन मन लागेन ? कहानी लामो छ । आज नभनौँ होला !
नाचघरमा जागिर
यो पनि बाटो र गीतबाटै जोडिन्छ । बाटोमा राजेश थापा सर भगवान भएर आउनुभयो । उहाँले परिश्रम बुझ्नुभयो । मलाई बाटोमा उहाँले भेट्नुभयो । ठमेलकै सानो चोकमा लगेर सारङ्गी बजाउन लगाउनुभयो । एउटा लोकगीतको धुन बजाउँदै गाउन पनि भन्नुभयो । मैले बजाउँदै गाएँ । जागिर खान्छु भनेर मैले गीत गाएको थिइनँ । पैसा पाउँछु भनेर गाएको थिएँ । तर जागिर पो पाएँ । मैले गीत गाइसकेपछि उहाँले ‘भोलि नागरिकता लिएर नाचघर आउनू’ भन्नुभयो । म निकै खुसी भएँ । नभन्दै नाचघरमा जागिर मिल्यो ।
नाघघरमा मैले हलहरूमा पनि काम गरेँ । बजाउँथे पनि अनि गाउँथे पनि । नाचघरमा मैले केही कुरा सिक्न पाएँ । शास्त्रीय सङ्गीत थाहा थिएन । फ्यूजन म्यूजिक थाहा थिएन । हामी त मुखले लोकगीत मात्र गाउँथ्यौँ । त्यो मात्र सारङ्गीमा बजाउँथ्यौँ । अहिले आधुनिक गीतमा पनि सारङ्गी बज्न थालेको छ । अहिले त सारङ्गीको तार नै फ्यूजन छ ।
हामी जस्ता स्थान पाउने ठाउँ, सारङ्गीले स्थान पाउने ठाउँ भनेको रेडियो नेपाल र राष्ट्रिय नाचघर नै हो । नाचघरमा १० वर्ष जागिर खाएँ । राजेश सर जिएमबाट जानुभयो । उहाँ निक्लिनुभएको पाँचौँ दिन मलाई पनि निकालियो । त्यस्तो भयो । ममाथि राजनीति चल्यो ।
सारङ्गी गन्धर्वको रगत
सारङ्गी भनेको हाम्रो शरीरको रगत हो । यसले हामीलाई खान दिएको छ । लाउन दिएको छ । यो हाम्रो परिवार हो । यो बजिदिन्छ । अनि आम्दानी दिन्छ । यसको आम्दानीबाट हामीले खान पाउँछौँ । हामीलाई यसैको भर छ । हिजोको दिनमा पनि हामी सारङ्गीकै भरमा हिँडेको मान्छे हामी । आज पनि उही छ । जीवन सारङ्गी नै हो ।
सारङ्गीले खुसीको लहर दिन्छ । घरबाट केही नलिई निस्केको मान्छे फर्किदा उमङ्ग लिएर फर्किने वातावरण सारङ्गीले दिन्छ ।
बाख्राको आन्द्राको तार
सारङ्गीको शरीर खिर्राको काठबाट बनेको हुन्छ । गाउँघरमा खिर्रा भन्ने काठ हुन्छ । त्यही खिर्राबाट सारङ्गी बन्छ । तर अहिले मैले बजाइरहेको यो सारङ्गी बकाइनोको हो । धनु बाँसको हो । अनि बाख्राको छाला पनि छ । तारहरू चाहिँ पहिले हाम्रा बाजेहरूले बाख्राको आन्द्राको बनाउँथे रे । नौरथदेखि टीकाको दिनसम्म मालश्री गाएर घरघरमा बाख्राको आन्द्रा उठाउँदै त्यसको तारहरू राख्नुहुन्थ्यो रे । त्यस्तो सारङ्गी चाहिँ एकदम लो स्केलमा बज्ने भयो । अनि पानी परेपछि त्यो फुल्ने भयो । पछि प्यारासुटको तार हाल्न थाल्नुभयो । अहिले बल्छीमा प्रयोग हुने डोरी पनि राख्ने गरिएको छ ।
(प्रस्तुति : हिरोज लोप्चन)