भारतका चर्तित क्रिकेटर शिखर धवन नेपाल प्रिमियर लिग(एनपीएल) खेल्न नेपाल आउने भएका छन् । एनपीएल खेल्न विभिन्न टोलीमा अहिलेसम्म आवद्ध भएका विदेशी खेलाडीमध्ये धवन सबैभन्दा चर्चित क्रिकेटर हुन् ।
धवनलाई कर्णाली याक्सले टोलीमा भित्र्याएको छ । कर्णालीले भारतमै पुगेर धवनसँग सोमबार सम्झौता गरिएको भन्दै बुधबार सार्वजनिक जानकारी दिएको थियो । कति मूल्यमा उनी कर्णाली टिममा आवद्ध भए भन्नेबारे भने खुलाइएको छैन । उनी कर्णालीले खेल्ने सबै खेलमा भने उपलब्ध हुने छैनन् ।
कम्तिमा ४ खेल खेल्ने सहमति भएको कर्णाली एक्सले जानकारी दिएको छ । ३८ वर्षीय धवनले केही महिनाअघि मात्रै क्रिकेटबाट सन्यासको घोषणा गरिसकेका छन् । उनी घुम्ने र एनपीएलसमेत खेल्न उद्देश्य राखेर नेपाल आउन लागेको भनिएको छ । एक दशक भन्दा बढी भारतीय टोलीमा रहेर खेलेका धवन प्राय गरी ओपनिङ ब्याट्सम्यानका रुपमा मैदानमा उत्रिन्थे ।
सन २०१० अस्ट्रेलियाविरुद्धको एकदिवसीय प्रतियोगिताबाट उनले भारतको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । १० डिसेम्बर २०२२ मा बंगलादेशविरुद्ध खेलिएको एकदिवसीयमा उनले भारतीय टोलीबाट अन्तिम खेल खेले । धवनले भारतीय टिमबाट टेस्टको ३४ खेलमा ५८ इनिङ खेलेका छन् । जसमा उनले ७ शतक र ५ अर्धशतकसहित २३१५ रन बनाएका छन् । एकदिवसीय प्रतियोगितामा उनले भारतीय टोलीबाट १६७ खेल खेलेका छन्। जसमा १६४ खेलमा ब्याटिङ गर्ने मौका पाउँदा १७ शतक र ३९ अर्ध शतकसहित ६ हजार ७९३ रन बनाएका छन् ।
६८ टी–२० अन्तराष्ट्रिय खेल खेल्दा ११ अर्धशतकसहित १७५९ रन बनाएका छन्। इन्डियन प्रिमियर लिग(आइपीएल)को पहिलो संस्करण २००८ बाटै खेल्ने मौका पाएका थिए । सुरुमा उनलाई दिल्लीले अनुबन्धन गरेको थियो । गतसाल उनी पञ्चाव किंग्सका कप्तान थिए । यस बीचमा उनले २२२ खेल खेलेका छन् ।
२ शतक, ५१ अर्धशतकसहित ६ हजार ७६८ रन बनाएका छन् । गत अगस्ट २४ मा उनले अन्तराष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।










