कैलालीमा सशस्त्र प्रहरीले बरामद गर्‍यो साढे १८ लाखको अवैध सामान

कैलालीमा सशस्त्र प्रहरीले १० दिनको अवधिमा साढे १८ लाख बढीको अवैध सामान बरामद गरेको छ ।सशस्त्र प्रहरीको नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले बुधबार मात्र करिब आठ लाखको अवैध सामानसहित चार जना महिलालाई समेत नियन्त्रणमा लिएको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिलबहादुर फोजुको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको अवस्थामा लुगाकपडा तथा विभिन्न इलेक्ट्रोनिक सामान बरामद गरेको हो ।सामान ओसारपसारमा संलग्न धनगढी उपमहानगरपालिका -२ पुरानो भन्सार रोड बस्ने महेश्वरी बिष्ट, तुलसी भट्ट, धना साउद र गौरी ओझालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक-डीएसपी) खेम ठकुल्लाले बताए ।

उनका अनुसार यो सहित ६ फागनुदेखि १६ फागुनसम्मको १० दिनमा गण तथा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म र बीओपीबाट १८ लाख ५६ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरी कारबाहीका लागि भन्सार बुझाइएको छ ।एक लाख ३७ हजार बराबरको कुखुरा तथा माछा बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

SHARE