एमाले युवा संघको नयाँ नेतृत्व छान्न आज मतदान

सत्तारुढ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व छान्न आज मतदान हुने भएको छ।

पोखरामा जारी दशौं महाधिवेसनबाट सर्वसम्मत नेतृत्व छान्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिए पनि सहमति हुन नसकेपछि निर्वाचनमार्फत नेतृत्व टुंगो लगाउन लागिएको हो।

संघको अध्यक्ष पदमा वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले उम्मेदवारी दिएका छन्। अध्यक्षका दुबै उम्मेदवारले प्यानल बनाएर अधिकांश पदमा उम्मेदवारी दिएको युवा संघले जनाएको छ।

अध्यक्षका उम्मेदवार  थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरुङ र विनय शाही, महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी, देवु बस्नेत, महिला सचिवमा निशा लिम्बु र मधेशी सचिवमा मोबिन आलमले उम्मेदवारी दिएका छन्।

अध्यक्षकै अर्का दाबेदार पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेशी सचिवमा चितरञ्जन यादवले उम्मेदवारी दिएका छन्।

युवा संघ नेपालको १५१ सदस्यीय केन्द्रिय समितिमा ४ सय जना बढीले उम्मेदवारी पेश गरेको संघका इन्चार्ज राजीव पहारीले जानकारी दिए। सहमतिमा नेतृत्व छान्ने प्रयास अझै जारी रहेको उनले बताए।

युवा संघको महाधिवेसनमा देशका सबै पालिका, जिल्ला, प्रदेश र केन्द्रिय समिति गरी १ हजार ९३९ जना प्रतिनिधी सहभागी छन्।

SHARE