भीम रावलको ‘मातृभूमि जागरण अभियान’ नेकपामा समाहित, सात बुँदे सहमति सार्वजनिक

काठमाडौं । मातृभूमि जागरण अभियान चलाउँदै आएका डा. भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएका छन्। बुधबार ७ बुँदे सहमति गर्दै रावल नेकपामा प्रवेश गरेका हुन्।

सहमति अनुसार रावलको पार्टीभित्र वरीयता छैटौँ रहने भएको छ। सहमति पत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र डा. रावलले हस्ताक्षर गरेका छन्।

सहमति पत्रमा देश हाल विषम र जटिल अवस्थामा रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता, अखण्डता, स्वाभिमान र जनसमृद्धिको पक्षमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाइएको छ।

सात बुँदे सहमतिअनुसार दुबै पक्षले आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, संगठनात्मक समायोजन पारस्परिक सहमतिमा टुंग्याउने, र नयाँ दस्तावेजहरू संयुक्त रूपमा तयार गर्ने भएका छन्।