‘ल्होछार’ कि ‘ल्होसार’ पर्व ?

  • मोहनकुमार तामाङ/प्रतीक ङेसुर तामाङ

तामाङ समुदायको आफ्नै भाषा छ । यस समुदायले ‘नयाँ’लाई ‘छार’ भन्छन् । ‘नयाँ’ लाई छार भन्ने र अगाडि ‘ल्हो’ राखेपछि ‘ल्होछार’ बन्यो । त्यस्तै तिब्बती भाषामा ‘नयाँ’ भन्नाले ‘सार’ हो । अर्थात् ‘सार’को अर्थ ‘नयाँ’ हुन्छ । ‘सार’को अगाडि ‘ल्हो’ राखेपछि ‘ल्होसार’ बन्यो । यसरी हेर्दा प्रष्ट छ— ‘सार’ तामाङ भाषा होइन । त्यसैले ‘छार’ तामाङ समुदायको मौलिक शब्द हो ।

नेपालमा ‘ल्होसार’ पनि भन्ने गरेको पाइन्छ । तर तामाङ समुदायको मौलिक शब्द ‘छार’ भएकाले ‘ल्होछार’ नै प्रयोग गर्न सही हो, र आत्मीयता महसुस पनि यसै शब्दले हुन्छ । यस हिसाबले हाम्रो अनुरोध पनि तामाङ समुदायले ‘छार’ नै भनेर जानुपर्छ भन्ने हो ।

यसरी शाब्दिक रूपमा ‘ल्होछार’ भनेको ‘नयाँ वर्ष’ हो । ‘ल्होछार’ शब्दलाई टुक्राएर हेर्दा ‘ल्हो’ भनेको ‘वर्ष’ र ‘छार’ भनेको ‘नयाँ’ हो । सामान्य अर्थमा बुझ्दा यो ‘नयाँ वर्ष’ नै हो । तर हिमाली मूलका मंगोल समुदायका लागि केवल यो एउटा ‘ल्हो’ आएर अर्को ‘ल्हो’ आउने मात्र होइन । पुरानो पात्रोको ठाउँमा नयाँ पात्रो राख्ने हिसाबको मात्र होइन । यो ठूलो चाड पनि हो । यो ठूलो उत्सव हो । यो ठूलो पर्व हो । यो ठूलो महोत्सव हो । यसबारे यहाँ सङ्क्षिप्तमा जान्ने प्रयत्न गरिएको छ ।

ल्होछार के हो ?
ल्होछार वास्तवमा पर्व हो । यो राष्ट्रिय पर्व हो । अहिले इन्टरनेटमा ‘सोनाम ल्होछार’ भनेर खोज्दा तामाङको पर्व भनेर आउँछ । त्यो मात्र होइन । यो सबैको ल्होछार हो । अरू देशमा पनि मनाउँछन् । चीनमा ‘स्प्रिङ फेस्टिवल’ भनेर मनाउँछन् । यो एक याम पनि हो । १५ दिनको निश्चित समय हुन्छ । यसमा रमाइलो गर्ने, मिठोमसिनो खाने, भेटघाट गर्ने जस्ता कार्यहरू गरिन्छन् । यसमा खासगरी नयाँ कुरालाई स्वागत गर्ने भन्ने हुन्छ । आफ्ना पितृलाई सम्झने, भूतप्रेतलाई हटाउने भन्ने जस्ता कुराहरू पनि आउँछन् ।

ल्होछारसँग हिमाली मूलका मंगोल समुदायको लामो सभ्यता गाँसिएको छ । लामो समयसँगै योसँग संस्कृति, परम्परा, पहिचान, इतिहास गाँसिएको छ । यसमा हाम्रो पहिचान छ । हाम्रा पुर्खाहरूले हिजो विज्ञानको सूत्र नभएका बेला जीवन सञ्चालनलाई सजिलो र मर्यादित बनाउन समय गणना पद्दतिको विकास गरे । उनीहरूले समयलाई व्यवस्थापन गर्नका लागि पद्धतिको सुरुवात गरे । ल्होछार पद्धति ल्याए । मान्छेले समय गणना गर्नुपर्‍यो । उमेर गणना गर्नुपर्‍यो । त्यसका लागि व्यवहारिक पद्धति ल्होछारको सुरुवात भयो । अहिले जस्तो अङ्कगणितीय समय सुरु भएको थिएन । त्यो अवस्थामा विभिन्न तत्त्वहरूलाई आधार मानेर वर्षको रूपमा मानेर, त्यसलाई अङ्गीकार गरेर त्यसको आधारमा उमेर गणना गर्ने कार्य थालियो ।

ल्होछार एक ऊर्जा
ल्होछार एक किसिमको ऊर्जा हो । ल्होछार नजिकिन थालेपछि यसले मानिसमा एक किसिमको भित्री कम्पन पैदा गर्छ । स्फुर्ती आउने, नयाँ कुरा गर्ने, संगठन निर्माण गर्ने जस्ता कार्य ल्होछारले दिएको छ । पछिल्लो समय नेपालमा मात्र नभएर विदेशी भूमिमा पनि ल्होछार मान्ने हाम्रा समुदायका व्यक्तिहरूले ल्होछार मान्नकै लागि पनि सामूहिक संगठन विस्तार गर्ने कार्य गरेका छन् । यो ल्होछारले नै दिएको देन हो । त्यसरी संगठन निर्माण भएपछि ल्होछार मात्र नभएर विभिन्न क्षेत्रमा सकारात्मक कार्य गर्न अघि बढेको पाइन्छ । शिक्षा, स्वास्थ्य, जनचेतनालगायतका यावत विषयमा त्यस्ता संगठनले काम गरिरहेका छन् ।

ल्होछारको विम्ब
ल्होछार भन्नेवित्तिकै विभिन्न विम्बहरू आउँछन् । पृष्ठभूमिअनुसार यसका फरकफरक विम्बहरू मस्तिष्कमा आउँछन् । धार्मिक, सांस्कृतिक, राजनीतिक जस्ता विविध पृष्ठभूमिको विविध विम्ब आउलान् । तर सामाजिक रूपले हेर्ने हो भने चाहिँ सरसफाईको कुरा आउँछ । घरमा आलुम, तेमे पाक्ने कुरा दिमागमा आउँथ्यो । खाप्सी पाक्ने कुरा दिमागमा आउँथ्यो । ल्होछार भन्नेवित्तिकै ‘ओ ल्होछार खाजिरो’, ‘ल्हो पोइ लाजिरो’, ‘छार सुरताइजालो’ भन्नेवित्तिकै खाप्सी, आलुम, तेमे, ढोगभेट, चेलीबेटी घरमा आउने, जस्ता विम्बहरू बन्छन् ।

यसलाई अहिले राजनीतिक हिसाबले पनि अवसरका रूपमा लिने गरेको पाइन्छ । ठूलो जनमानसमा आफ्ना एजेन्डाहरू प्रस्तुत गर्ने अवसरका रूपमा पनि लिइन्छ ।

किसानले आफ्नै किसिमले बुझ्ला । ‘ओ हो ल्हो हाइ लाजिरो’– अब त वर्षा लाग्न लाग्यो । प्रकृतिमा अब नयाँ पालुवा पलाउने याम सुरु हुन लाग्यो कि भनेर किसानले बुझ्ला । बसन्त याम सुरु हुन लाग्यो भनेर किसानले बुझ्ला । यसरी त्यो व्यक्तिको पृष्ठभूमि कस्तो, के हो त्योअनुसार ल्होछारको विम्ब सिर्जना हुन्छ ।

पात्रोको प्रयोग
नेपालमा २०४६–०४७ को प्रजातन्त्रको पुनर्वहालीपछि खुलेर ‘ल्होछार’ मनाउन थालिएको हो । यसरी हेर्दा खुलेर मनाउन थालेको तीन दशक भयो । यो तीन दशकमा जनजन र घरघरमा ल्होछार पुग्न सकेन कि भन्ने ठम्याइ छ । यसका लागि अभियानकर्ताहरूको पनि कमजोरी हुनसक्छ । यो जबसम्म घरघरमा भित्री दिलबाट पुग्न सक्दैन तबसम्म व्यापक बन्न सक्दैन । त्यसैले पात्रोको प्रयोगमा जटिलता छ । एउटा पद्धतिमा अभ्यस्त हुनाले तुरुन्त नयाँ पद्धतिमा गएर बुझ्न सक्दैन । यो सदियौँको उपनिवेश र पेलानबाट भएको हो । यो भनेको राजनीतिक कारण हो । अर्को पछिल्लो समय सामाजिक अगुवाहरूले पनि जुन ढङ्गमा अभियानलाई लैजानुपर्ने थियो; लान नसकेको आभास हुन्छ ।

मेमेआँखेहरूलाई अहिले पनि ल्हो गन्न आउँछ । तर विडम्वनाको कुरा नयाँ पुस्तालाई कति पनि आउँदैन । उहाँहरू ‘जीवा, लाङ, ताग, ह्योइ, डुक, डुल, ता, ल्हुग, टे, ज्या, खि, फाग’ भनेर मज्जाले गन्न सक्नुहुन्छ । नयाँ पुस्तालाई यो कुरा थाहा छैन । यो पनि दैनिक जीवनमा प्रयोग र अभ्यास गर्नलाई अहिले विभिन्न संघ संस्थाहरूले छलफल, परामर्श तथा विमर्शहरू गरिरहेका छन् । दैनिक जीवनमा प्रयोग गर्नका लागि एक किसिमको योजना र डिजाइन गर्नुपर्छ भनेर छलफल भइरहेको छ ।

ल्होछारको तिथि
जनमानस अङ्कगाणितीय मितिमा अभ्यस्त भइसके । लामो कालखण्डसम्म तामाङ सभ्यताको ‘ल्होछार’ मान्न र गणना गर्न दिइएन । गणना र अभ्यास गर्ने वातावरण मिलेन । २०४६ सालपछि बल्ल खुलेर मनाउने वातावरण विस्तारै भयो । त्यसले गर्दा अगाडिका कुरा बिर्सिए । जानेका व्यक्तिहरू शेष भए । त्यसपछि उनीहरूसँगै त्यो सभ्यता हराएर गयो । पुनर्जागरण गर्दा समय लाग्छ ।

कतिपयले माघ १ गतेलाई ‘नयाँ वर्ष’ को रूपमा हाम्रो नेपालमा मनाउने गरेको पाइन्छ । तर ल्होछार चाहिँ चन्द्र पात्रोको आधारमा हुने भएकाले तलमाथि परे जस्तो लागेको हो । फरक समय वा फरक दिनमा कहिल्यै पर्दैन । अरूको मितिमा चाहिँ फरक परेको हो । अहिले माघ शुक्ल प्रतिपदा तिथि भनेर जुन भनिएको छ, त्यही नै ठीक छ । यहाँ अप्ठ्यारो लागेको चाहिँ के हो भने लामो समय माघे सक्रान्ति मानिआएको र त्योसँग ल्होछारलाई मिश्रण गरेर बुझ्न खोज्दा अप्ठ्यारो महसुस मात्र भएको हो ।

अब के गर्ने ?
थप अध्ययन र अनुसन्धानको खाँचो टड्कारो छ । बिनाअध्ययन र तथ्य प्रमाण तथा वैज्ञानिक आधारविना धारणा निर्माण गर्ने काम गर्नु हुँदैन । अध्ययन गर्न अत्यन्तै जरुरी छ । अब विद्यार्थी, विद्वान्हरूले अध्ययन र खोज गर्नुपर्छ । स्नातकोत्तरका विद्यार्थी, एमफिलका विद्यार्थी तथा पीएचडीका विद्यार्थीले शोध अनुसान्धान गरेर तथ्य अनि सही कुरा लिएर आउनुपर्छ ।

ल्होछारमा चन्द्र पात्रोको प्रयोग हुन्छ भन्ने कुरा त अगाडि नै आइसक्यो । त्यसले मात्र ठ्याक्क समय पुग्दैन । त्यसैले अन्य पात्रोको पनि राम्रो कुरा ग्रहण गरेर जानुपर्छ । तर त्यसको अभ्यास भइसकेको छैन । थप अनुसन्धान गरेर तथ्यसहित प्राज्ञिक विश्लेषण गरेर तयारी गर्न आवश्यक छ ।

(कलेज अफ बुद्धिज्म एन्ड हिमालयन स्टडिजका सहप्राध्यापक मोहनकुमार तामाङ र सञ्चारकर्मी तथा तामाङ भाषा अभियन्ता प्रतीक ङेसुर तामाङसँग गरिएको कुराकानीमा आधारित । प्रस्तुति : सन्तोष राई)

SHARE