तीन दिनसम्म टुडिखेलमा सोनाम ल्होछार मनाइने, १० लाख बढीले अवलोकन गर्दै

सोनाम ल्होछार–२८६१ डुल (सर्प वर्ष) तीन दिनसम्म सैनिक मञ्च टुडिखेलमा मनाइने भएको छ । राष्ट्रिय सोनाम ल्होछार समारोह मूल आयोजक समितिले पत्रकार सम्मेलन मार्फत यसबारे सोमबार जानकारी दिएको हो ।

नेपाल तामाङ घेदुङको संयोजन र राष्ट्रिय तामाङ घेदुङको सहसंयोजनमा माघ १५ देखि १७ गतेसम्म विभिन्न कार्यक्रम गरी ल्होछार मनाइने बताइएको छ ।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहनकुमार गोलेका अनुसार पूजापाठ, साङ्गीतिक प्रस्तुति, समारोह कार्यक्रमलगायतका कार्यक्रमहरू गरिनेछ । ‘‘मन्जुश्री सम्वत्–२८६१ सोनाम ल्होछार भव्य रूपमा मनाऔँ, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनमा अघि बढौँ’ भन्ने नाराका साथ ल्होछार मनाउँदै छौँ’, अध्यक्ष गोलेले भने । उनले २ लाखले प्रत्यक्ष तथा १० लाख जनाले अप्रत्यक्ष रूपमा समारोहको अवलोकन गर्ने जानकारी दिए ।

तामाङ समुदायले नयाँ वर्ष र सबभन्दा ठुलो चाडका रूपमा मनाउने सोनाम ल्होछार माघ १७ गते परेको छ । सरकारले सो दिन सार्वजनिक विदा समेत दिएको छ ।

ल्होछार १७ गते परे पनि तामाङ समुदायले पाँच दिनसम्म विभिन्न तवरले मनाउने प्रचलन रेहको छ । माघ शुक्ल प्रतिपदा तिथिमा ल्होछार मनाउने गरिन्छ ।

१२ वटा जनावरको नामबाट गणना गरिने ल्होछार यसवर्ष डुल (सर्प) वर्ष प्रवेश गर्न लागेको छ । यससँगै डुक (गरुड) वर्ष विदाइ हुँदैछ ।

(‘ल्होछार’ कि ‘ल्होसार’ पर्व र ? ले पढ्न र हेर्न यहाँ क्लिक गर्नुहोस् ।)

प्रेस विज्ञप्ति

SHARE