प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि तामाङ राष्ट्रिय मुक्ति मोर्चाद्वारा उम्मेदवार सिफारिस

काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूको विस्तृत नामावली सिफारिस गरेको छ। मोर्चाले नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा औपचारिक पत्रमार्फत सिफारिस पेश गरेको हो।
२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनलाई ध्यानमा राखी प्रत्यक्षतर्फ १५ जना र समानुपातिकतर्फ ८ जना उम्मेदवार सिफारिस गरिएको छ। नुवाकोटबाट हितबहादुर तामाङको नाम अग्रपंक्तिमा राखिएको छ।
समानुपातिक सूचीमा महिला तथा क्षेत्रीय समावेशितालाई प्राथमिकता दिइएको मोर्चाको भनाइ छ। राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेशबाट कुमार योञ्जन तामाङ र टासी लामा तामाङ सिफारिसमा परेका छन्।
मोर्चाले जनसंख्या, योगदान र ऐतिहासिक उत्पीडनको आधारमा उम्मेदवार छनोट हुनुपर्नेमा जोड दिँदै तामाङ समुदायको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न यो कदम महत्वपूर्ण भएको जनाएको छ।

SHARE