काठमाडौँ । सेलो गायक बिश्व दोङले पछिल्लो समय ‘भाइरल’ बन्ने होडले नेपाली संगीतको मौलिकता संकटमा परेको बताएका छन्। उनले कलाकारले प्रख्यात हुने कि कुख्यात हुने भन्ने छनोट आफैंले गर्नुपर्ने भन्दै सिर्जनाको सामाजिक प्रभावबारे गम्भीर हुनुपर्ने धारणा राखेका छन्।
उनका अनुसार चर्चा सकारात्मक कामबाट पनि कमाउन सकिन्छ र नकारात्मक बाटोबाट पनि। तर, कलाकारले आफ्नो सिर्जनाले समाज, समुदाय र नयाँ पुस्तामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा सचेत हुन आवश्यक छ। “सर्जकले आफ्नो सिर्जनाले सकारात्मक असर पार्छ कि नकारात्मक, त्यो आफैं बुझ्नुपर्छ,” उनले भने।
दोङले अहिले नेपाली संगीत पश्चिमी प्रभावको तीव्र दबाबमा रहेको उल्लेख गर्दै विकासको नाममा विकृति बढ्दै गएको टिप्पणी गरे। उनका अनुसार अहिलेको पुस्तामा ‘जसरी भए पनि भाइरल हुने’ प्रवृत्ति बढेको छ, जहाँ कलाकारहरू आफ्नै पहिचान र सांस्कृतिक अस्तित्व हराउने जोखिमतर्फ उदासीन देखिन्छन्।
“फन्ड गरेर, देखासेखी गरेर वा हल्ला मच्चाएर क्षणिक रूपमा बिक्न सकिएला,” उनले भने, “तर त्यो टिकाउ हुँदैन। समाजमा दीर्घकालीन सम्मान पाउन कलाकार सभ्य, सिर्जनशील र समाजको भावना बुझ्ने हुनुपर्छ।”
उनले मौलिकता नै कलाकारको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आफ्नै संस्कृति, भाषा र पहिचानलाई टेकेर गरिने सिर्जना दीर्घकालसम्म बाँच्ने बताए। उनका अनुसार उच्छृंखल प्रस्तुतिभन्दा सन्तुलित र सिर्जनात्मक अभिव्यक्तिले नै समाजमा स्थायी प्रभाव छोड्छ।
दोङले नेपाली लोक तथा सेलो संगीतलाई आधुनिकतासँग जोड्दा पनि यसको मौलिक चरित्र जोगाउनुपर्नेमा जोड दिए। “क्षणिक चर्चाभन्दा स्थायी मूल्य ठूलो कुरा हो,” उनले भने, “कलाकारले आफ्नो सिर्जनाबाट समाजलाई दिशा दिने जिम्मेवारी बिर्सनु हुँदैन।”








