‘बर्गर हाउस’को ब्रान्ड बनाएका व्यवासायी बसन्त लामालाई प्रश्न— ब्रान्ड कसरी बन्छ ? (भिडियो)

दश वर्षअघि दोलखा मेलुङ गाउँपालिका ३ का बसन्त लामासहित अन्य तीन जना साथी मिले । चार जना भएर लगभग ८० लाख जुटाए । त्यो पैसाले ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ नामको बर्गर हाउस खुल्यो । बानेश्वर चोकदेखि शङ्खमूल जाने ओरालो नजिकै सुरु भएको फ्रेन्चाइजी बर्गर हाउस अहिले देशैभर फैलिइसकेको छ । यो ब्रान्डले हजारौँ सेवाग्राहीको मन जितेको छ । सेवाग्राहीको मन जितेसँगै बर्गर हाउसको सम्पत्ति बढेर ६० करोड बराबर पुगेको छ ।

सुरुवात गर्दा आफूले जमाएको केही पैसा, घरबाट केही सहयोग र सहकारीको ऋण थियो । युवा व्यवसायीका रूपमा स्थापित भइसकेका लामा भन्छन्— ‘७०–८० लाखबाट सुरु गरेको अहिले यसको प्रपर्टी ५०–६० करोड छ ।’ यो सफलताको पछाडि निरन्तरता र लगनशीलता भएको लामा बताउँछन् ।

लामा नेपालको अवस्था देखेर निराश छैनन् । उनी अरू युवालाई पनि उत्साहित हुन आग्रह गर्छन् । ‘अल्छी गर्नु भएन । धेरै जमिन बाँझो भइरहेका छन् । मिहिनेत गर्नुपर्छ’, उनी भन्छन्, ‘नेपालमा धेरै गर्न सकिन्छ । पहिलेभन्दा हजारौँले रोजगारी पाएका छन् । यहीँ नेपालमै धेरै काम गर्न सकिन्छ ।’ अहिले उनको बर्गर हाउसले लगभग सात हजारलाई रोजगारी दिइरहेको बताउँदै उनले आफ्नो जस्तो व्यवसाय थुप्रै सञ्चालन भइरहेको र तिनीहरूले हजारौँलाई रोजगारी दिइरहेको उनको भनाइ छ ।

कतिपय व्यक्ति भने काम नगर्ने र सीप पनि नहुने अनि ‘बेरोजगार छु’ भनेर हिँड्ने गरेको लामा बताउँछन् । पछिल्लो समय सीप भएको व्यक्ति जुनसुकै स्थानमा पनि रोजगार बन्ने भन्दै उनले युवालाई सीप सिक्न आग्रह गरे । ‘पछिल्लो सात–आठ वर्षमा हजारौँले रोजगार पाएका छन् । कतिपय भने काम गर्ने आफ्नो सीप नभएर काठमाडौंमा पनि हल्लिएर हिँड्ने अनि विदेशमा गएर उसै पैसा कमिन्छ भन्ठान्ने पनि छन्’, उनी भन्छन्’, ‘सीप भए नेपालमै र नेपालभन्दा बाहिर जुनसुकै मुलुकमा गएर पनि राम्रो पारिश्रमिक उसले पाउन सक्छ ।’

ब्रान्ड कसरी बन्छ ?
व्यवसायी लामाका अनुसार कुनै पनि चिजको ब्रान्ड बन्न निकै गाह्रो हुन्छ । उनले सञ्चालन गरेको बर्गर हाउसको ब्रान्ड बनाउन पनि धेरै गाह्रो भएको उनको अनुभव छ ।

‘यो धेरै गाह्रो छ । सयौँ मान्छेलाई रिझाउनुपर्छ’, उनी भन्छन् । एउटै घरमा आमाले पकाएको खाना पनि कतिपय सदस्यलाई मन नपर्ने भन्दै उनले व्यवसायिक रूपमा खानाको स्वाद सबैलाई मन पर्ने बनाउन सक्नु ठुलो कुरा हुने उनी बताउँछन् ।

कुनै पनि खानाको ब्रान्ड बन्नका लागि कम्तिमा ९९ प्रतिशत सेवाग्राहीलाई सन्तुष्टि दिन सक्नुपर्ने उनी बताउँछन् ।

SHARE