सेयर स्रोत विवादपछि गृहमन्त्री सुधन गुरूङको राजीनामा

काठमाडौं । सेयर लगानीको स्रोत र विवादास्पद व्यावसायिक सम्बन्धबारे उठेका प्रश्नबीच गृहमन्त्री सुधन गुरूङले बुधबार पदबाट राजीनामा दिएका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा हिरासतमा रहेका दीपक भट्टसँगको व्यावसायिक साझेदारी विवादमा परेपछि उनले पद त्यागेका हुन्।

गुरूङले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गर्दै आफूविरुद्ध उठेका विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्।

“मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु,” उनले लेखेका छन्।

उनले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका छन्:

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z  आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र  त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।

गुरूङले चैत १३ गते गृहमन्त्रीको शपथ लिएका थिए। तर, पद सम्हालेको एक महिना नबित्दै उनी विवादका कारण राजीनामा दिन बाध्य भएका हुन्।

पछिल्ला दिनहरूमा उनको सेयर लगानीको स्रोत, सम्पत्ति विवरण र व्यावसायिक सम्बन्धबारे सार्वजनिक रूपमा प्रश्न उठ्दै आएका थिए।