दु:ख नगरी पाएको सफलता ‘सफलता’ नै होइन : गायिका खत्री (भिडियो)

नेपालको पूर्वी जिल्ला ओखलढुङ्गादेखि अवसरको खोजी गर्दै काठमाडौं छिरेकी कविता खत्रीले गीत सङ्गीतमा अवसर खोजिन् । दु:खविनाको सफलतालाई सफलता नै नठान्ने उनले थुप्रै सङ्घर्ष गरिन् । अहिले पनि उनको सङ्घर्षले उत्कर्ष चुमिसकेको छैन । त्यही सङ्घर्षकै दौरान ‘नमस्ते ढोगदिया’ गीत गाउने अवसर पाइन् । उनले निर्माण पक्ष पनि सम्हालिन् । आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरेकी यो गीतले उनलाई सफलताको बाटो देखाइदिएको छ । सफलताको बाटोमा लम्किएकी उनै खत्रीसँग खुल्लापत्रका लागि हिरोज लोप्चनले कुराकानी गरेका छन् । यहाँ सोही कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ :


 

गीत चल्न के चाहिँदो रहेछ ?
गीत चल्न सिर्जना, त्यसपछि बलियो र राम्रो टिम भयो भने गीत चल्नलाई धेरै सहयोग हुन्छ । मैले भोगेअनुसार टिम राम्रो, सिर्जना राम्रो हुनुपर्छ ।

गीत, शब्दले भनेको जस्तो भिडियोमा मेल खाएन भने गीतलाई असर पर्छ कि पार्दैन ?
अवश्य पारिहाल्छ नि । गीतको भाव एकातिर भिडियो भाव अर्कातिर भएपछि असर पर्छ ।

गीत चले पछाडि दर्शक स्रोताको एक खालको प्रतिक्रियाहरू आउँछन्— सकारात्मक अथवा नकारात्मक । यसले चाहिँ असर पर्छ कि पर्दैन ?
कसरी बुझ्ने भन्ने कुरा हो । गीतलाई त त्यति असर नपर्ला, मान्छेलाई चाहिँ पर्न सक्छ । सकेसम्म सकारात्मक भए हुन्थ्यो, राम्रो भए हुन्थ्यो भन्ने सोच हुन्छ ।

तीखो प्रहार हुँदा मन छुन्छ ?
छुन्छ नि । मान्छे हो, सबैको मन एउटै हो, क्षणिकलाई नभए पनि दीर्घकालिन रूपमा मान्छेलाई चाहिँ धेरै असर गर्छ ।

दर्शकको रोजाइमा कस्तो खालको गीत पर्दो रहेछ र चल्दो रहेछ ?
थाहा नै नहुँदो रहेछ यो बेलामा यो गीत चल्छ भन्ने चाहिँ सायद मलाई मात्र हैन कसैलाई पनि थाहा हुँदैन होला । हजारौँ गीत आइरहेका हुन्छन् । उहाँहरूले केही विषयवस्तु समय सान्दर्भिक अहिलेको विभिन्न घटनाहरूलाई मध्यनजर गरेर सर्जकहरूले एउटा गीत उत्पादन गरेको हुन्छ उहाँहरूले पनि चल्दैन भनेर गर्नुहुन्न हरेक कुरालाई मध्यनजर गरेर गरेका हुन्छन् तर र्दशकले कुन समयमा कस्तो खालको गीत मन पराइदिनुहुन्छ थाहा नै हुँदैन ।

‘ढोगदिया’ गीतबाट नै तपाईं दर्शकमाझ आफू चिनिएँ भन्ने लाग्छ कि अरू गीतबाट नै चिनिएको हो भन्नुहुन्छ ?
मेरो जीन्दगीमा खुड्किलाहरू थप्न सफल, खुसी हुन सफल गीतहरू अन्य छन् । केही हदसम्म चिनाएको हो तर अलिक बढी सजिलो चाहिँ यो गीतले गराएको हो जस्तो लाग्छ ।

के अहिलेको पुस्ताले मौलिकपन छोड्दै गएको हो ?
हिजोका गीतहरू, जुन रेडियोमा सुनेका गीतहरू थिए त्यस्ता गीतहरू त अहिले छैनन् । गीतमा मात्र होइन कुनै कुरामा पनि छैन । हिजो को त के भेटिन्छ र र ? तर मौलिकता चाहिँ हुनुपर्छ भन्ने हो । समयले नै फड्को मारिरहेको हुन्छ नयाँ जेनेरेसनले त्यही पुरानो कुरा पत्याउँछ, त्यही पछाइरहेको हुन्छ भन्ने हुँदैन जोगाउनुपर्छ, संरक्षण गर्नुपर्छ तर केही परिवर्तन हुन पनि जरुरी छ ।

भविष्यसम्म पनि सुनिरहने गीत हामीले कतिको सुन्न पाउँछौ ?
भोलि मैले २०-२५ वर्षपछि पनि सन्तानले पनि त्यो गीत हेर्दाखेरि चाहिँ ‘ए यस्तो रहेछ’ नभनुन् । सङ्ख्या मात्र बढाएर के गर्नु हेर्दा ‘वाउ’ पनि हुनुपर्छ समय परिस्थिीतीलाई जोडिएर निर्माण गरिएको गीतहरूसँग जोडिएर काम गरौँ भन्ने त हुन्छ नै सबैलाई मलाई पनि छ । समयअनुसार गर्दै जाँदा कहाँ पुगिन्छ हेरौँ ।

राजधानीमा हिजो ओखलढुङ्गाबाट आएर सङ्घर्ष गरिएको दिनहरूलाई एकचोटि फर्केर हेर्दा ?
जीवन नै सुख दुःखको सङ्ग्राम हो भनिन्छ नि ! दुःख गर्नुपर्छ । दुःख नगरी पाएको सफलता के सफलता ? प्रतिस्पर्धा हुनुपर्छ लड्नुपर्छ । हिजो गरेको दुःखका कारण त आज यहाँ छौँ । हिजो दुःख गरेको थिएन भने कविता खत्री जुन छु आज म यस्तो हुँदिन थिएँ होला । म आज अनि सफलता मात्रै प्राप्त गर्‍यो भने नकारात्मक नराम्रोतिर जाने सम्भावना बढी हुन्छ किनभने हामीले त्यो दुःख बुझेका हुँदैनौँ । त्यो हामीले महसुस नै गरेका हुँदैनौँ । दुःखले जिन्दगी जिउन जतन गर्न सिकाउने हो ।

यो क्षेत्रमा टिक्न चाहिँ के चाहिदो रहेछ ?
सबै भन्दा पहिला निरन्तरता ,लगनशीलता र धैर्यता हुनुपर्छ । ह्वात्तै सफलता प्राप्त हुँदैन । धरै बलिया उदाहरणहरू छन् । हामी पनि एक तह आतिएर भौतारियौँ । तर निरनतरता चाहिँ हुनुपर्छ कुन गीत कति बेला चल्छ त्यो थाहा हुँदैन समयअनुसार चल्नुपर्छ ।

दर्शक स्रोताका लागि केही भन्नुपर्ने सन्देशहरू ?
देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर नेपाली गीत सङ्गीतलाई सजाउनुहुने, माया गर्नुहुने सम्पूर्ण नेपाली गीत सङ्गीतका दर्शक स्रोताहरूलाई नेपाली गीत सङ्गीतलाई अत्यन्तै मन पराइदिनु भएको छ यो माया बढ्दै बढ्दै जाओस् नघटोस् । यहाँहरूको मन दुख्ने, यहाँहरूलाई असर पर्ने, समाजलाई असर पर्ने खालको गीत सङ्गीतहरू कहिले पनि ल्याउने छैन । मन दुखाउने छैन भन्न चाहान्छु ।

SHARE