काठमाडौं । तामाङ समुदायको महान् पर्व सोनाम ल्होछार २८६२ को अवसरमा हुने मुख्य समारोहको तयारी तीव्र बनेको छ। नेपाल तामाङ घेदुङले आफ्नै केन्द्रीय हल चुच्चेपाटीमा पत्रकार सम्मेलन आयोजना गरी माघ ४ र ५ गते काठमाडौंको टुँडिखेलमा हुने ल्होछार समारोहमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री सुशीला कार्की आउने घेदुङले जनाएको छ ।
पत्रकार सम्मेलनमा घेदुङका संघीय अध्यक्ष मोहन गोले, महासचिव जगतमान दोङ तथा तामाङ राष्ट्रिय घेदुङका अध्यक्ष वीरबहादुर योञ्जनले यस वर्षको ल्होछार कसरी, किन र के उद्देश्यका साथ मनाइँदैछ भन्ने विषयमा प्रेस विज्ञप्ति सहित आ- आफ्नो धारणा राखेका थिए।

सोनाम ल्होछार तामाङ समुदायको पात्रो अनुसार नयाँ वर्षको आरम्भ हो, जसले पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई शुभकामनासहित स्वागत गर्ने सांस्कृतिक परम्परालाई बोकेको छ।
यस वर्षको ल्होछार समारोहलाई अझ व्यवस्थित, भव्य र रुपमा मनाउने तयारी गरिएको घेदुङले जनाएको छ। टुँडिखेलमा आयोजना हुने मूल समारोहमा तामाङ समुदायको मौलिक भेषभूषा, नृत्य–संगीत, सांस्कृतिक झाँकी, लामा गुरुबाट हुने धार्मिक विधि, शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक प्रस्तुति समावेश गरिनेछ।
संघीय अध्यक्ष मोहन गोलेले सोनाम ल्होछार केवल तामाङ समुदायको पर्व मात्र नभई नेपालको बहुजातीय, बहुसांस्कृतिक पहिचानको प्रतीक भएको बताए। ल्होछारले भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामा पहिचानको चेतना फैलाउने काम गर्ने उल्लेख गरे।
महासचिव जगतमान दोङले कार्यक्रमको व्यवस्थापन, अनुशासन र सहभागितालाई प्राथमिकतामा राखिएको जानकारी दिए। तामाङ राष्ट्रिय घेदुङका अध्यक्ष वीरबहादुर योञ्जनले सबै समुदाय, शुभेच्छुक र सञ्चारकर्मीलाई समारोहमा सहभागी भई ल्होछारको उत्सवलाई साझा बनाउन आग्रह गरे।
सोनाम ल्होछार २८६२ लाई तामाङ पहिचान, एकता र सांस्कृतिक गौरवको उत्सवका रूपमा मनाइने तयारी गरिएको छ।











