काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा जेठ ३० गते शुक्रबार काठमाडौँ प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको प्रेक्षालयमा ‘राष्ट्रिय सङ्गीत तथा नाट्य उत्सव–२०८२’ आयोजना हुने भएको छ ।
सोमबार प्रज्ञा–प्रतिष्ठानको हल नक्सालमा पत्रकार सम्मेलन गर्दै उत्सवबारे जानकारी दिइएको हो । दिउँसो १ः३० बजे सुरु हुने नाट्य उत्सवमा नेपालका सात वटै प्रदेशका रैथाने मौलिक गीतसङ्गीत, नृत्य एवम् नाटक प्रस्तुति हुनेछ ।
पत्रकार सम्मेलनमा कुलपति निशा शर्मा पोखरेलले उत्सवमा नेपाली पुराना लोभ हुन लागेका रैथाने लोकसङ्गीत, शास्त्रीय सङ्गीत, नाट्यकला र सांस्कृतिक विविधताको बहुआयामिक प्रस्तुति हुने बताइन् ।
सात वटै प्रदेशका लोकप्रिय तथा उदायमान कलाकारलाई एउटै मञ्चमा सहभागी गराइने यस उत्सवले नेपाली मौलिक धुन, वाद्ययन्त्र र नाट्य परम्पराको पुनरावलोकन गर्दै नवप्रवर्तनशील सिर्जनशीलतालाई उजागर गर्न सहयोग पुग्ने बताइन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बद्रीप्रसाद पाण्डेले समुद्घाटन गर्ने कार्यक्रम रहेको उत्सवमा सङ्गीत, नाट्य र साहित्य विधाका बुद्धिजीवी, अनुसन्धाता, अग्रज स्रष्टा कलाकार, विद्यालय र कलेजका विद्यार्थीलाई समेत सहभागी गराइने उत्सवका संयोजक उपकुलपति शुम्भू राईले जानकारी दिए ।
उत्सवमा कवि लक्ष्मी मालीको कविता ‘आमा तिम्रो नाम के हो? ’ कवितालाई लोकप्रिय कलाकार एवं बरिष्ठ निर्देशक वीरेन्द्र हमालको निर्देशनमा नाट्य मञ्चन गरिने जानकारी दिइएको छ ।