पुष ५ को एकता सन्देश सभालाई सफल बनाउने तयारी तीव्र, तामाङ राष्ट्रिय मुक्ति मोर्चा बागमती प्रदेशको तयारी बैठक सम्पन्न

आगामी पुष ५ गते काठमाडौंमा आयोजना हुने नेपाली कम्युनिस्ट पार्टीको बागमती प्रदेश एकता सन्देश सभालाई लक्षित गर्दै तामाङ राष्ट्रिय मुक्ति मोर्चा बागमती प्रदेश समितीको तयारी बैठक सम्पन्न भएको छ।

बैठकमा तामाङ राष्ट्रिय मुक्ति मोर्चाका इन्चार्ज हित बहादुर तामाङ प्रमुख अतिथि तथा केन्द्रीय अध्यक्ष डिल्लीमान तामाङ विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको अध्यक्षता बागमती प्रदेश समितीका अध्यक्ष कर्म लोप्साङ लामाले गरेका थिए।

बैठकमा वक्ताहरूले एकता सन्देश सभा केवल औपचारिक कार्यक्रम नभई पार्टी एकता, वैचारिक दृढता र उत्पीडित समुदायको अधिकारको पक्षमा सशक्त सन्देश दिने ऐतिहासिक अवसर भएको बताए। तामाङ समुदायसहित श्रमिक, किसान र उत्पीडित वर्गको राजनीतिक सहभागिता मजबुत बनाउन मोर्चाले खेल्ने भूमिकामाथि गम्भीर समीक्षा गरेका थिए।

प्रमुख अतिथि हित बहादुर तामाङले पार्टी एकता वर्तमान राजनीतिक परिस्थितिमा आवश्यक मात्र नभई अपरिहार्य भएको उल्लेख गर्दै, बागमती प्रदेशबाट आउने सशक्त सहभागिताले राष्ट्रिय राजनीतिमा सकारात्मक दबाब सिर्जना गर्ने बताए। विशेष अतिथि डिल्लीमान तामाङले मोर्चाको संगठनात्मक विस्तार, अनुशासन र जनसम्पर्कलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

बैठकले एकता सन्देश सभालाई भव्य, व्यवस्थित र अर्थपूर्ण बनाउने संकल्पसहित प्रचार–प्रसार, सहभागिता व्यवस्थापन र जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको छ।

SHARE