गीतकार टेक तामाङको पहिलो एकल ‘सांगीतिक साँझ’ आयोजना हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा असार १४ गते शनिबार कार्यक्रम हुन लागेको हो ।
गीतकार संघले आयोजना गर्ने कार्यक्रमलाई ‘गीतकार टेक तामाङ सांगीतिक साँझ २०८२’ नाम दिइएको छ । एकल साँझमा तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीत प्रस्तुत गरिने भएको छ ।
प्रत्यक्ष वाद्यवादनसहित अग्रज गायकगायिकादेखि अहिलेका लोकप्रिय गायक गायिकासम्मले गीत गाएर झुमाउने छन् । कार्यक्रममा दीप श्रेष्ठ, किरण प्रधान, शिव परियार, राजेशपायल राई, अन्जु पन्त, सत्यराज आचार्य, संगीता राना प्रधान, डेभिड शंकर, रुपक चौधरी, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिना लगायत उनका चर्चित गीतमा गुञ्जिने छन् ।
नेपाली सांगीतिक क्षेत्रमा योगदान पूर्याउँदै आएका तामाङ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) समेत हुन् । हाल उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख हुन् ।