तामाङ चलचित्र संघको १६ औं साधारणसभा तथा ८ औं अधिवेशनको तयारी तीव्र

काठमाडौं । आगामी श्रावण २४ गते शनिबार हुन गैरहेको तामाङ चलचित्र संघको १६ औं साधारणसभा तथा ८ औं अधिवेशनको तयारी तीव्र रुपमा अगाडि बढिरहेको संघले जनाएको छ ।

संघको नयाँ नेतृत्वसमेत चयन गर्न निर्वाचन सहितको अधिवेशन भएका कारण आवश्यक तयारीका कामहरु चरणबद्ध रुपमा अगाडि बढाएको संघका सचिव बुद्ध तामाङले बताए ।

सचिव तामाङका अनुसार संघको कार्यसमितिको नियमित बैठकले निर्वाचन सम्पन्न गर्न नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । जसको सदस्यमा नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन कुमार बल र संघका पूर्व अध्यक्ष एवं सल्लाहकार हिरालाल ब्लोन रहेका छन् ।

त्यसैगरी, बैठकले अधिवेशन व्यवस्थित रुपमा सम्पन्न गर्न संघका सम्पूर्ण कार्यसमितिलाई नै जिम्मेवारी बाँडफाँट गरेको छ ।

अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, तृतिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, महिला सचिव, सहकोषाध्यक्ष, आजीवन र महिला सदस्यसहित १८ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्नेछ ।

अधिवेशनमा प्रदेश शाखा हरुबाट महिला १ र पुरुष १ सदस्यले भाग लिनेछन् । संघमा हालसम्म नवीकरण भएका साधारण सदस्य ३०५ रहेका छन् भने आजीवन सदस्य २१ रहेका छन् ।

 

१६ औ साधारणसभा तथा ८ औ अधिवेशन बौद्ध सेकुवा जक्सन सभाहल बौद्ध काठमाडौंमा सम्पन्न हुने संघले जनाएको छ ।

SHARE