प्रदर्शन चर्किँदै : एमाले र कांग्रेस पार्टी कार्यालयमा आगजनी

काठमाडौं । जेन-जी आन्दोलन मंगलबार झन् चर्किदै जाँदा राजधानी काठमाडौं उपत्यकामा दलका पार्टी कार्यालयदेखि शीर्ष नेताहरूको निवाससम्म तोडफोड र आगजनी भएका छन्।

ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी कार्यालयमा दिउँसो प्रदर्शनकारीले आगजनी गरेका छन्। त्यस्तै, सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा समेत आक्रमण गरी आगजनी गरिएको छ।

प्रदर्शनकारीहरूले नेताहरूलाई प्रत्यक्ष लक्षित गर्दै उनीहरूको निवासमा समेत तोडफोड गरेका छन्। यसअघि नै कांग्रेस सभापति शेरबहादुर देउवा, ऊर्जा मन्त्री दीपक खड्का, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वगृहमन्त्री रमेश लेखक, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतका नेताहरूको घरमा आक्रमण भएको पुष्टि भइसकेको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरी र सशस्त्र सुरक्षाकर्मीलाई व्यापक संख्यामा परिचालन गरिएको छ। दलका कार्यालय वरिपरि कडा सुरक्षा व्यवस्था मिलाइएको छ भने नेताहरूको आवासीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको जिल्ला प्रहरी परिसरले जनाएको छ।

हिजो मात्र देशभर भएका प्रदर्शनमा १९ जनाको मृत्यु र करिब ३०० जना घाइते भएपछि आज राजधानीसहितका विभिन्न जिल्लामा अझै व्यापक विरोध प्रदर्शन भइरहेको छ।
सरकारले उत्पन्न परिस्थितिलाई संवेदनशील मानेर काठमाडौं, काभ्रेपलाञ्चोकसहितका स्थानमा कर्फ्यू आदेश जारी गरिसकेको छ।

 

SHARE