काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले जेन–जी आन्दोलनका क्रममा पत्रकार र मिडिया हाउसलाई निशाना बनाइएको घटनाप्रति गहिरो आपत्ति जनाएको छ।
आन्दोलनमा काठमाडौं शाखाका एकसहित चार जना पत्रकार गोली लागेर घाइते भएको घटनालाई महासंघले दुखद बताउँदै प्रेस स्वतन्त्रतामाथि आक्रमण हुन नदिन आग्रह गरेको छ।
अध्यक्ष शोभा अर्यालले जारी विज्ञप्तिमा आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेप्रति सहानुभूति प्रकट गर्दै सुशासन र भ्रष्टाचारविरोधी मागलाई संवैधानिक प्रक्रियामार्फत सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्। साथै, राष्ट्रपति कार्यालयको पहलमा संवादमार्फत निकास खोजी मुलुकलाई विधिको शासनमा फर्काउनुपर्ने उनको भनाइ छ।
महासंघले संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, संयमता र जिम्मेवार भूमिकासहित अघि बढ्न सबै पक्षलाई अपिल गरेको छ।