बडा दसैं २०८२ प्रारम्भ : घरघरमा घटस्थापना

काठमाडौँ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दूहरूको महान् चाड बडा दसैं सोमबारदेखि औपचारिक रूपमा प्रारम्भ भएको छ। आज प्रतिपदा शुद्ध भएकाले घरघरमा विधिपूर्वक घटस्थापना गरी देवी दुर्गाको पूजा–उपासना थालिएको हो।

भक्तजनहरूले पूजा कोठा वा दसैं घरलाई गोबरमाटोले लिपपोत गरी पवित्र बनाएर कलश, दियो र गणेश स्थापनासहित अखण्ड दीप प्रज्वलन गर्ने, जमरा उमार्ने र दुर्गा सप्तशतीको पाठ गर्ने परम्परा निर्वाह गरेका छन्। यसरी सुरु भएको दुर्गा भवानीको आराधना नवरात्रभर निरन्तर चल्नेछ।

यस पर्वमा शक्तिस्वरूपा दुर्गाका नौरुप – शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने यो पर्वलाई धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले अति महत्वपूर्ण मानिन्छ।

देशभरका प्रमुख शक्ति पीठहरू – गुह्येश्वरी, भद्रकाली, दक्षिणकाली, महालक्ष्मी, मैतीदेवी, खाँडादेवीलगायतका मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। विशेषगरी राजधानीका शक्तिपीठहरूमा दर्शनार्थीको लाम लागेका कारण पूजा–आराधना वातावरण अत्यन्तै उल्लासमय बनेको छ।

नवरात्र व्रतलाई महापुण्यदायी मानिँदै ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्रदेखि नारी तथा सम्पन्न व्यक्तिहरूसम्मले आफ्ना मनोकामना पूर्तिका लागि दुर्गाको उपासना गर्ने परम्परा रहिआएको छ। धार्मिक विश्वासअनुसार यस व्रतले आत्मबल, आन्तरिक शक्ति र साहस प्रदान गर्ने जनविश्वास छ।

पूजामा दुर्गा मन्त्र “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे” जप गर्ने र चण्डीपाठ गर्ने परम्परा अझै जीवित छ। यसलाई तान्त्रिक साधनामा शक्तिशाली मन्त्र मानिन्छ जसले नकारात्मक ऊर्जा, भूत–प्रेत बाधा हटाउने विश्वास गरिन्छ।

नवरात्रभर अखण्ड दीप प्रज्वलन गर्ने, नियमित पूजापाठ गर्ने र शक्तिपीठमा दर्शन गर्ने क्रम नवमीसम्म जारी रहनेछ। अन्ततः दशमीको दिन देवीको प्रसादका रूपमा उमारिएको जमरा शिरमा धारण गरी विजया दशमी मनाइने परम्परा छ। यसरी सुरु भएको नवरात्रलाई सत्य, धर्म र शक्तिको उत्सवका रूपमा देशैभर उल्लासपूर्वक मनाउने परम्परा पुस्तौंदेखि चलिआएको छ।

SHARE