जेन-जी आन्दोलनको ७ प्रमुख एजेण्डा

काठमाडौं । देशव्यापी रूपमा चर्किएको जेन-जी आन्दोलनले आफ्नो संघर्षका मुख्य ७ एजेण्डा तयार गरेको छ। आन्दोलनकारीहरूले हालैका प्रदर्शनमा उठाएका मागलाई संस्थागत गर्दै नयाँ राजनीतिक विकल्पको खाका प्रस्तुत गरेका हुन्।

आन्दोलनका अनुसार जेन-जी युवाले उठाएका प्रमुख ७ एजेण्डा यसप्रकार छन् :

1. तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा।

2. ५० वर्षभन्दा माथिका व्यक्तिहरू प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा समावेश गर्ने।

3. प्रधानमन्त्रीलाई प्रत्यक्ष जनताबाट छान्ने संवैधानिक व्यवस्था।

4. २०६३ सालदेखि अहिलेसम्म भएका सबै भ्रष्टाचारसम्बन्धी फाइल सार्वजनिक गर्ने र दोषीलाई कानुनी कारबाही गर्ने।

5. संघीय शासन प्रणाली खारेज गर्ने र यसको विकल्पमा नयाँ शासन संरचना ल्याउने।

6. न्यायपालिकालाई पूर्णतया स्वतन्त्र राख्ने र कुनै पनि न्यायाधीशलाई राजनीतिक दलसँग आबद्ध नहुने प्रावधान सुनिश्चित गर्ने।

7. नेपालका सबै नागरिकलाई समान सम्मान र अधिकार सुनिश्चित गर्ने, विभेद अन्त्य गर्ने।

आन्दोलनकारीहरूले यी मागहरूलाई तत्काल सम्बोधन नगरेसम्म विरोध नरोकिने चेतावनी दिएका छन्। उनीहरूको भनाइमा, अहिलेको राजनीतिक नेतृत्वले राष्ट्रलाई स्थिरता दिन नसक्ने भएकाले नयाँ पुस्ताले नयाँ व्यवस्था निर्माण गर्नुपर्ने समय आएको हो।

गत सोमबार देशभरि भएको आन्दोलनमा १९ जनाको मृत्यु र करिब ३०० जना घाइते भएपछि जेन-जी आन्दोलन अझै संगठित र योजनाबद्ध देखिएको छ। राजधानीसहित विभिन्न जिल्लामा भइरहेका प्रदर्शन र तोडफोडका घटनाले परिस्थिति झन् संवेदनशील बनेको छ।

SHARE