मन्त्री बब्लु गुप्ताले पदभार सम्हाल्दै पहिलो निर्णयमा गरे अनलाइन प्रसारणको व्यवस्था

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आइतबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। शितल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएपछि उनले मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन्।

पदभार सम्हालेसँगै मन्त्री गुप्ताले आफ्नो पहिलो निर्णयस्वरूप मन्त्रालय अन्तर्गतका सबै निकायहरूको बैठक प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउने घोषणा गरेका छन्। उनका अनुसार पारदर्शिता र जवाफदेहिताको संस्कृतिलाई प्रवर्द्धन गर्नका लागि यस्तो कदम चालिएको हो।

गुप्ताले मन्त्रालयका सम्बन्धित निकायहरूलाई उपलब्ध स्रोत र प्रविधि प्रयोग गरी प्रत्यक्ष प्रसारणको प्रणाली तत्काल लागू गर्न निर्देशन दिएका छन्। सपथपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले भने, “म बोल्नभन्दा बढी काम गर्न विश्वास राख्छु। कृपया मलाई परिणाम देखाउन केही समय र विश्वास दिनुहोस्।”

मन्त्री गुप्ताको यो निर्णयलाई पारदर्शिता र जिम्मेवारीतर्फको सकारात्मक पहलका रूपमा हेरिएको छ।

SHARE