जारी २ः सङ अफ च्याब्रुङ’ ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’ को अफिसियल ट्रेलर सोमबार सार्वजनिक गरिएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको यो फिल्म यसअघिको सुपरहिट चलचित्र ‘जारी’ को दोस्रो भाग हो। दयाहाङ राई र मिरूना मगरको मुख्य भूमिका रहेको यो चलचित्रले ‘जारी’मा सुरू भएको कथालाई नयाँ र भावनात्मक मोडमा अघि बढाएको देखिन्छ।

तीन मिनेट ५२ सेकेन्ड लामो ट्रेलरले कथाको भावनात्मक गहिराइ र सांस्कृतिक परिवेश दुबैलाई प्रस्तुत गरेको छ। ट्रेलरमा नाम्साङ (दयाहाङ राई) र हाङमा (मिरूना मगर) का जीवनका आरोह–अवरोह, छोरीको जन्मपछिको वैवाहिक तनाव र पुनः उत्पन्न हुने फाटोलाई कथाको केन्द्रमा देखाइएको छ।

फिल्मले लिम्बू समुदायको समृद्ध संस्कृति, परम्परा र जीवनशैलीलाई उजागर गर्दै एक सशक्त प्रेमकथा सुनाउने संकेत ट्रेलरमार्फत दिएको छ। संवाद, दृश्य र संगीतको संयोजनले दर्शकमा मर्मस्पर्शी र कौतुहलता जगाउने प्रभाव पारेको छ।

‘जारी २’ मा दयाहाङ र मिरूनाका साथमा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुस्कर गुरूङ, प्रेम सुब्बा, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु र सृजना निङ्लेख लगायत कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ।

बाँसुरी फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रका निर्माताहरू रामबाबु गुरूङ, मधु मिजार र जीवन गुरूङ हुन्। निर्देशक उपेन्द्र सुब्बाले लिम्बू संस्कृति र समकालीन प्रेमबीचको द्वन्द्वलाई यथार्थ र भावनात्मक ढङ्गमा चित्रण गरेको बताएका छन्।

फिल्म कात्तिक २१ गतेदेखि देशभर प्रदर्शनमा आउने छ।

SHARE