जेन–जी आन्दोलनको दोस्रो दिनको हिंसात्मक घटनामा २५० जना पक्राउ, प्रहरी छानबिन तीव्र

भदौ २४ गते जेन–जी आन्दोलनको दोस्रो दिन राजधानी काठमाडौंसहित देशभर भएका तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्नहरूमाथि प्रहरीले छानबिन तीव्र पारेको छ।

भदौ २३ गते नयाँबानेश्वरमा १७ जनाको गोली लागी मृत्यु भएपछि भोलिपल्ट आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका सरकारी भवन, भाटभटेनी सुपरस्टोर, हिल्टन र हायात होटल समेतमा तोडफोड र आगजनी गरेका थिए। तीन प्रहरीको हत्या र दर्जनौं कार्यालयमा आगजनीसमेत भएको थियो।

प्रहरीका अनुसार हालसम्म करिब २५० जना पक्राउ परेका छन्, जसमा ११० जना काठमाडौंमा मात्रै छन्। तीमध्ये केहीलाई पुर्पक्षका लागि थुनामा र केहीलाई धरौटीमा छोडिएको छ।

तीव्र छानबिनमा सिसिटिभी फुटेज र भिडिओका प्रमाण प्रयोग गरिँदैछ। पक्राउ परेकामध्ये कसैले सिंहदरबार र बैंक जलाएका, कसैले प्रहरी आक्रमण वा हतियार लुटेका छन्।

तीन प्रहरी हत्या प्रकरणमा १२ जना, प्रहरी कार्यालय आगजनीमा १५ जना, र कास्कीमा हतियार लुटपाटमा १८ जना पक्राउ परेका छन्।

प्रहरीले लुटिएका हतियार, फरार कैदीबन्दी र आन्दोलनमा घुसपैठ गरी हिंसा फैलाउने गिरोहको खोजीलाई प्राथमिकता दिएको जनाएको छ।

SHARE