भैरहवा। राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ।
६५ वर्षीय गौतम भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेको क्रममा अचानक बेहोस भएका थिए। उनलाई तुरुन्तै सहकर्मीहरूले मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याएका थिए। तर चिकित्सकहरूले उपचारको क्रममा मृत घोषणा गरेका हुन्।
बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी गौतम लामो समयदेखि श्रमिक अधिकार र संघीय ट्रेड युनियन आन्दोलनका सशक्त अभियन्ताका रूपमा परिचित थिए। उनी सन् १९९७ (वि.सं. २०५४) देखि नै जिफन्टसँग आबद्ध भई विभिन्न जिम्मेवारीमा रहेर सक्रिय थिए।
उनको अचानक निधनले जिफन्ट परिवार, मजदुर वर्ग र श्रमिक आन्दोलनमा ठूलो क्षति पुगेको भन्दै सहकर्मीहरूले दुःख व्यक्त गरेका छन्। जिफन्टका शीर्ष नेताहरूले गौतमको योगदानलाई स्मरण गर्दै उनको समर्पण, सरल स्वभाव र श्रमिकहितका लागि गरिएको निरन्तर संघर्षलाई आदर्शका रूपमा लिने बताएका छन्।
गौतमका दुई छोरा र श्रीमती रहेका छन्।










