हेटौंडा । जिम्बा फिल्म प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘ह्याङ तामाङ’ यही मंसिर २० गते शनिबार हेटौंडाको ओम्याक्स हलमा भव्य प्रिमियर हुँदैछ। प्रोडक्सनको १४औँ प्रस्तुति रहेको यो चलचित्र निमा लामा तामाङको निर्देशनमा तयार भएको हो। चलचित्रमा तामाङ समुदायको इतिहास, पहिचान र सामाजिक संवेदनशीलता प्रस्तुत गरिएको छ।
प्रिमियरमा दुई शो हुनेछ-पहिलो शो बिहान ११ बजे र दोस्रो शो दिउँसो ३ बजे-हेटौंडा क्षेत्रका दर्शकका लागि विशेष प्रदर्शन व्यवस्था गरिएको आयोजकले जनाएको छ।
चलचित्रमा जय स्याङतान, सिताराम गोले, अभिलामा अनिता गोले, कल्पना वाइबा, निर्मला मोक्तान, प्रबल थिङ तामाङ, पूजा लामा, राजकुमार स्याङतान, चन्द्रमाया दोङ, मनिष रेश, मोहन भण्डारी, मोती सुवेदी, छविलाल बोम्जन, मङ्गल सिंह ग्याबा लगायतका कलाकारहरूको अभिनय देख्न पाईन्छ। विविध पुस्ता र भौगोलिक पृष्ठभूमिका तामाङ पात्रलाई जीवन्त रूपमा उतार्ने प्रयास गरिएको निर्देशक निमा लामा तामाङले बताए।
चलचित्रका निर्माता प्रबल थिङ तामाङ र सह–निर्माता कर्सङ लामा दोङले ‘हामी तामाङ’ले मनोरञ्जनसँगै सांस्कृतिक सन्देश दिने विश्वास व्यक्त गरेका छन्।
हेटौंडाबाट सुरु हुने यो प्रिमियरपछि देशका विभिन्न शहरमा फिल्म प्रदर्शन विस्तार गर्ने तयारी पनि गरिएको छ।










