‘ह्याङ तामाङ’को ट्रेलर सार्वजनिक

काठमाडौं । तामाङ समुदायको इतिहास, पहिचान र सांस्कृतिक गौरवलाई केन्द्रमा राखेर निर्माण गरिएको  चलचित्र ‘ह्याङ तामाङ (हामी तामाङ)’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। फिल्मले तामाङ समाजका सामाजिक जटिलता, संघर्ष, प्रेम, भावनात्मक उतार–चढाव र सामुदायिक अस्तित्वको विषयलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ ।

फिल्मलाई निमा लामा तामाङले निर्देशन गरेका छन् भने प्रबल थिङ तामाङ निर्माण र कार्साङ लामा दोङ सह-निर्माता रहेका छन्। ट्रेलरमा देखिएको कथानक प्रस्तुति, मनमोहक सिनेमाटोग्राफी, मौलिक तामाङ पहिरन-संस्कृति, भाषिक सौन्दर्य र प्राकृतिक दृष्यावली यस चलचित्रका प्रमुख आकर्षण बनेका छन्।

मुख्य भूमिकामा जय स्याङ्तान, अभि लामा, सिताराम गोल, अनिता गोल, कल्पना वाइवा र निर्मला मोक्तानको सशक्त अभिनय देख्न सकिन्छ। साथै प्रबल थिङ, पूजा लामा, राजकुमार स्याङ्तान, चन्द्रमाया दोङ, मङ्गल ग्याबा, आकास मोक्तान, छबी लामा बोम्जनलगायतको अभिनय देख्न सकिन्छ ।

फिल्मका गीत-संगीतमा शुभ तामाङ, सागर आले मगर, कार्साङ लामा दोङ, समर तामाङ, सुमिना लो, निर्मला घिसिङ र बबिता पाख्रिनका स्वर रहेको छ। शब्द, संगीत र भावनात्मक धुन निर्देशक निमा लामा तामाङकै सिर्जना भएकाले चलचित्र संगीतको दृष्टिले पनि विशेष बन्ने देखिन्छ। एरेन्ज कार्साङ लामा दोङले गरेका छन्।

सिनेमाटोग्राफर तथा कलरिस्ट सूर्य लामाले प्रस्तुत गरेका हुन् भने सम्पादन विक्रम मोक्तान र फाइट निर्देशन मिलन श्रेष्ठले गरेका छन्।

 ‘ह्याङ तामाङ’ को ट्रेलरले नेपाली चलचित्र क्षेत्रमा सांस्कृतिक कथानकमा नयाँ ऊर्जा भर्ने संकेत दिएको छ। तामाङ समुदायको संघर्ष, गौरव र मौलिक पहिचानलाई भव्य रूपमा प्रस्तुत गर्ने यो फिल्म २०२५ को सर्वाधिक प्रतिक्षित चलचित्रका रूपमा उभिएको छ।

SHARE