तामाङ राष्ट्रिय मुक्तिमोर्चाद्वारा पौष ५ गतेको प्रदेश एकता सन्देश सभा सफल बनाउन तीन स्थानबाट र्‍यालीमा सहभागिता हुँदै

काठमाडौं। पौष ५ अर्थत भोलि आयोजना हुने नेपाली कम्युनिस्ट पार्टी प्रदेश एकता सन्देश सभालाई सफल बनाउन तामाङ राष्ट्रिय मुक्तिमोर्चाले राजधानीका तीन प्रमुख स्थानबाट र्‍याली निकाल्ने भएको छ। मोर्चाले सम्पूर्ण कार्यकर्ताहरूलाई तोकिएका र्‍यालीहरूमा सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ।

माइतीघर आर्कबाट हुने र्‍याली अध्यक्ष डिल्लिमान तामाङ तथा प्रदेश अध्यक्ष कर्मलोप्साङ तामाङको नेतृत्वमा बिहान ११:०० बजे सुरु हुनेछ। उक्त र्‍यालीमा १० वटा डम्फु सहित सहभागिता जनाइने छ।

त्यस्तै, त्रिपुरेश्वर आर्कबाट हुने र्‍याली केन्द्रीय महासचिव लिला कुमार घ्लान तथा प्रदेश उपाध्यक्ष सबिता तामाङ पाख्रिनको नेतृत्वमा बिहान ११:०० बजे सुरु हुने जनाइएको छ। यस र्‍यालीमा पनि १० वटा डम्फु समावेश गरिनेछ।

रत्नपार्क आर्कबाट निकालिने र्‍यालीको नेतृत्व केन्द्रीय सचिव रक्षक घ्लान, केन्द्रीय कोषाध्यक्ष उषा वाइबा तथा सचिव सुकराम तामाङले गर्नेछन्। यो र्‍याली पनि बिहान ११:०० बजे सुरु भई १० वटा डम्फु सहित अघि बढ्नेछ।

मोर्चाले यी र्‍यालीहरूमा केन्द्रीय समिति सदस्यहरू, वागमती प्रदेश समिति सदस्यहरू तथा जिल्ला समिति सदस्यहरू अनिवार्य रूपमा सहभागी भइदिन आग्रह गरेको छ। सभालाई एकताबद्ध र प्रभावकारी बनाउने उद्देश्यका साथ व्यापक सहभागिताको अपेक्षा गरिएको तामाङ राष्ट्रिय मुक्तिमोर्चाले जनाएको छ।

SHARE