काठमाडौं–पूर्वी पहाडसम्मको यात्रा : भूगोल, जीवन र चेतनाको समिक्षात्मक कथन

काठमाडौंको धुवाँधुलो, ट्राफिक र हतारो छाडेर पूर्वतर्फ लाग्दा, यो यात्रा केवल स्थानान्तरणको प्रक्रिया रहेन। यो त आफ्नै मनतिर फर्किने अवसर बन्यो। राजधानीको कंक्रिट जीवनबाट बाहिर निस्कँदै सिन्धुलीको उकालो–ओरालोमा प्रवेश गर्दा, गाडी जति बिस्तारै अघि बढ्दै थियो, सोच पनि त्यत्तिकै संयत हुँदै गइरहेको थियो। डाँडाकाँडा, खोलानाला र हरिया वनबीच गुड्दा लाग्थ्यो- यहाँ समय आफैं थाकेर चिया खाँदै बसेको छ, कसैको हतार उसलाई छुन्न सक्दैन।

सिन्धुली पार गर्दै उदयपुर र सुनसरी पुग्दा नेपालको भूगोलसँगै जीवनशैलीको स्वरूप बदलिन थाल्यो। हावाको तापक्रम मात्र होइन, मान्छेको लय पनि फरक देखिन्थ्यो। खेतमा पसिनामा भिजिरहेका किसान, बाटोछेउका चिया पसलमा गफिँदै गरेका बृद्धहरू र बजारको सामान्य चहलपहल-यी सबै दृश्यमा जीवनको उस्तै मिठास थियो। ठाउँ फेरिए पनि श्रम, संघर्ष र आशाको अनुहार भने उस्तै देखिन्थ्यो।

धरान र भेरेटारमा यात्रा अझ रोचक मोडमा पुग्यो। एकातिर आधुनिक कफी पसल, व्यवस्थित बजार र नयाँ पुस्ताको चहलपहल; अर्कोतिर पुराना चौतारी, मौलिक गफ र परम्परागत जीवनशैली। आधुनिकता र परम्परा यहाँ द्वन्द्वमा होइन, संवादमा देखिन्थे। बजारको भीडभाडबीच पनि पहाडको मौनता कतै हराएको थिएन-त्यो मौनता कानमा होइन, मनमा सुनिन्थ्यो।

धनकुटाको हिलेमा पुग्दा कुहिरोले यात्रालाई रहस्यमय बनायो। केही क्षण अघि देखिएको दृश्य अचानक हरायो, तर अनुभूति झनै गहिरो भयो। कुहिरोले अँगालो हालेजस्तो वातावरणमा तमोर र अरुण नदीको गर्जन सुनिन्थ्यो। ती नदी केवल पानीका धार होइनन्, पूर्वी नेपालको इतिहास, सभ्यता र संघर्ष बोकेका जीवित प्रतीक हुन्। कहिले शान्त लयमा, कहिले उग्र जोसमा बगिरहेका ती नदी हेर्दा लाग्थ्यो- म पर्यटक होइन, हजारौँ वर्ष पुरानो पानीको कथा सुन्न आएको श्रोता हुँ, र बिस्तारै आफैं पनि त्यसै कथाको एउटा सानो धारा बन्दै छु।

तुम्लिङटार पुग्दा खुला आकाशले मन हलुका बनायो। पहाडले घेरेको समथर भूभागले यात्रालाई क्षणिक विश्राम दियो। मनकामना मन्दिरतर्फ उक्लँदा शारीरिक थकान भए पनि मानसिक शान्ति बढ्दै गयो। आस्था र प्रकृति यहाँ अलग–अलग होइनन्, एकअर्कामा घुलमिल भएका देखिन्थे। मन्दिर केवल पूजा गर्ने स्थान होइन, यात्रुका लागि आत्मसंवाद गर्ने थलो बनेको थियो।

यस यात्रालाई अझ अर्थपूर्ण बनायो प्राज्ञ डक्टर किरात,नेत्रबहादुर भुजेलसँगको संगतले। उहाँहरु केवल सहयात्री मात्र रहेनन्, यात्राका दृश्यलाई अर्थ दिने बौद्धिक पात्र बने। उहाँका कथनमा किराती सभ्यताको इतिहास, प्रकृतिसँगको आत्मीय सम्बन्ध र समुदायको सामूहिक चेतना स्पष्ट झल्किन्थ्यो। बाटोका हरेक मोड, नदीका हरेक आवाज र गाउँका हरेक अनुहारसँग उहाँका विचार जोडिँदा यात्रा केवल दृश्यावलोकनमा सीमित रहेन, चेतनाको अध्ययनमा रूपान्तरण भयो।

सङ्खुवासभाको खाँदबारी पुग्दा पहाड अझ नजिक आएजस्तो लाग्यो। सिलिचोङ र लकुवातर्फ बढ्दै जाँदा, दुर्गम भनिने भूगोलभित्र सरल र गहिरो जीवन भेटियो। यहाँका मान्छेहरू कम बोल्थे, तर उनीहरूको आँखाले धेरै कथा सुनाउँथे। अतिथि सत्कारमा देखिने आत्मीयता, सामूहिक श्रमको भावना र प्रकृतिप्रतिको सम्मानले समुदायको बलियो संरचना झल्काउँथ्यो।
स्थानीय खानाले पनि यात्रामा विशेष भूमिका खेल्यो। लोकल चामलको भुजा, सागसब्जी र लोकल स्वादमा केवल पेट भर्ने तत्व थिएनन्, माटोको आत्मा मिसिएको थियो। ती खानाले भूगोल, संस्कृति र जीवनशैलीलाई एउटै थालमा राखेर प्रस्तुत गरिरहेका थिए। यहाँ खाना पनि कथावाचक जस्तै लाग्थ्यो-मौन तर अर्थपूर्ण।

विकासका संकेतहरू पनि स्पष्ट देखिन्थे। नयाँ बाटा, सञ्चार सुविधा, विद्यालय र बजार विस्तारले परिवर्तनको गति देखाउँथे। तर यो परिवर्तन परम्परालाई विस्थापित गर्दै होइन, उसैसँग सहयात्रा गर्दै अघि बढिरहेको अनुभूति हुन्थ्यो। कतै परम्पराले अझै चप्पल खोल्न नदिएको जस्तो लाग्थ्यो-आधुनिकता भित्रिनु अघि स्थानीय मूल्य र पहिचानको सम्मान गर्नैपर्ने सन्देश जस्तै।

 यो यात्रा केवल ठाउँ–ठाउँको विवरण होइन, नेपालको विविध भूगोल र जनजीवनको समिक्षात्मक पाठ बन्यो। यहाँ परिवर्तन बगिरहेको थियो, तर पहिचान हराइरहेको थिएन। विकास र परम्परा, आधुनिकता र मौलिकता-यी सबै एउटै नदीका फरक धारझैँ देखिन्थे।

अन्ततः, यो यात्रा सम्झनाको एल्बममा थन्किने घटना बनेन। यो त मेरो चेतनामा निरन्तर बगिरहने रमाइलो खोला बन्यो-जहाँ म कहिले यात्री, कहिले श्रोता, कहिले समिक्षक र कहिले कथाको धड्कन बनेँ। पूर्वी नेपालको यो यात्रा आज पनि मनभित्र बगिरहेको छ, नयाँ प्रश्न र नयाँ अर्थ जन्माउँदै।

SHARE