नेपाली कम्युनिस्ट पार्टी दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिको एकता सन्देश भेला भव्यताका साथ हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिको आयोजनामा एकता सन्देश भेला आगामी पुस २६ गते शनिवार काठमाडौंमा हुँदैछ। जडिबुटीस्थित रोयल जडिबुटी बैंक्वेटमा बिहान ११ बजे सुरु हुने उक्त भेलाले पार्टीभित्रको एकता, संगठन सुदृढीकरण र भावी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ।
भेलामा पार्टीका केन्द्रीय,प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्ता, दोलखा जिल्लाबाट काठमाडौंमा रहेका समर्थक, शुभेच्छुक, Gen Z युवा पुस्ता र बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहने आयोजक समितिले जनाएको छ।

कार्यक्रममा समसामयिक राजनीतिक अवस्था, पार्टीको भूमिका, जनसम्बन्ध विस्तार र संगठनात्मक समन्वयलाई प्राथमिकताका साथ उठाइने जनाइएको छ।

आयोजकका अनुसार दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिमार्फत पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने, युवालाई राजनीतिमा सक्रिय सहभागिताका लागि प्रेरित गर्ने र एकताबद्ध सन्देश प्रवाह गर्ने उद्देश्यले भेला आयोजना गरिएको हो। कार्यक्रममा विभिन्न वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।