सुदर्शन थापाको निर्देशनमा ‘शुभ विवाह’, प्रदीप र सनिशाको जोडी

काठमाडौँ । सुदर्शन थापाको निर्देशनमा नयाँ नेपाली फिल्म ‘शुभ विवाह’ निर्माण हुने भएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मका मुख्य कलाकार तथा प्राविधिक टिम सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो।

प्रियादर्शन फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा देखिनेछन्। फिल्ममा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यको पनि अभिनय रहनेछ।

निर्देशक थापा र अभिनेता खड्काले यसअघि ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। उक्त फिल्म व्यावसायिक रूपमा सफल मानिन्छ। ‘शुभ विवाह’मा उनीहरूको सहकार्यलाई लिएर पनि अपेक्षा गरिएको छ।

सुप्रिया कटुवालले निर्माण गर्ने फिल्ममा साम भुजेल कार्यकारी निर्माता छन्। फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकको छ। अर्जुन पोखरेलले संगीत दिने फिल्मको छायाङ्कन राजेश श्रेष्ठले गर्नेछन्। नृत्य निर्देशन विक्रम स्वारको रहनेछ।

रोमान्टिक कथावस्तुमा आधारित फिल्मको छायाङ्कन छिट्टै सुरु गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ। फिल्म आगामी फागुन २१ गते प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।