मतगणना जारी रहँदै पार्वत गुरुङको धन्यवाद अभियान

जिरी । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहेका बेला नेकपा (एमाले) दोलखाका उम्मेदवार पार्वत गुरुङले मतदातालाई धन्यवाद दिने अभियान सुरु गरेका छन्।

शनिबार जिरी पुगेर उनले मतदातासँग भेट्दै धन्यवाद दिन थालेका हुन्। पछिल्लो मतगणना अनुसार गुरुङभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल अगाडि रहेका छन्।

गुरुङले निर्वाचन परिणामलाई सम्मान गर्ने र सधैं दोलखाली जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले निर्वाचनका क्रममा खटिएका पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकप्रति आभार व्यक्त गरे।

‘जनताले व्यक्त गरेको मत लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति हो। परिणाम जे आए पनि जनमतलाई हामी सम्मान गर्छौं,’ उनले भने, ‘निर्वाचनपछि पनि म सधैं जनतासँगै रहनेछु।’

स्थानीय बासिन्दाले भने परिणाम आउनुअघि नै मतदातामाझ पुगेर धन्यवाद व्यक्त गरेको गुरुङको पहलले जनमतप्रतिको सम्मान र जनतासँग निरन्तर सम्बन्ध कायम राख्ने सन्देश दिएको बताएका छन्।