दोलखामा रास्वपाका जगदीश खरेलको फराकिलो जीत

दोलखा।दोलखाबाट प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल निर्वाचित भएका छन्। उनले ३२ हजार ३७६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पार्वत गुरुङले १७ हजार ४४९ मत प्राप्त गरेका छन्। खरेलले गुरुङलाई १४ हजार ९२७ मतान्तरले पराजित गरेका हुन्।

त्यस्तै, नेकपाका उम्मेदवार विशाल खड्काले १३ हजार ६५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २९८ मत पाएका छन्।

यस जितसँगै दोलखामा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको छ। निर्वाचन परिणाम सार्वजनिक भएसँगै समर्थकहरूले खरेलको जितलाई परिवर्तनको संकेतका रूपमा लिएका छन्।