दोलखामा जिरेल जातिको देवाली प्रदर्शनी सम्बन्धी अनुसन्धानात्मक कार्यक्रम सम्पन्न

दोलखामा जिरेल जातिको देवाली प्रदर्शनी र जन्मदेखि मृत्युसम्मको संस्कार सम्बन्धी अनुसन्धानात्मक कार्यक्रम सम्पन्न भएको छ । जिरी नगरापलिका ८ मा यही मंसिर २९ देखि ३० गतेसम्म कार्यक्रम गरिएको हो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, शास्त्रीय सङ्गीत तथा परम्परागत विभागले कार्यक्रमको आयोजना गरेको हो ।

जिरेल जातिको देवाली र जन्मदेखि मृत्युसम्मको संस्कार अध्ययन कार्य परम्परागत विधाअन्तर्गत परेकाले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले कार्यक्रम गरेको प्रतिष्ठानका शास्त्रीय सङ्गीत तथा परम्परागत विभागका प्रमुख प्राज्ञ डक्टर किरातले जानकारी दिए । किरातले कार्यक्रमको अवसरमा जिरेल समुदाय आफैमा संस्कृतिको धनी भएको बताए । ‘तपाईंहरू आफैमा सांस्कृतिक रूपमा धनी हुनुहुन्छ’, उनले भने, ‘अझै यसलाई समृद्ध बनाउँदै लैजान सक्नुहोस् ।’

कार्यक्रममा बोल्दै जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेलले आफ्नो संस्कार संस्कृतिलाई बचाइराख्न योगदान गर्ने व्यक्तिहरूप्रति सम्मान व्यक्त गरे । आदिवासी जनजातिको भाषा, संस्कृतिमाथि चौतर्फी आक्रमण भइरहेका बेला जोगाउन मुश्किल भएको बताए ।

उनले भाषा तथा संस्कृति पहिचान भएको उल्लेख गर्दै जगेर्ना गर्नुपर्नेमा जोड दिए । ‘आदिवासी जनजातिहरूको भाषा, संस्कृतिमाथि चौतर्फी आक्रमण भइरहेको छ’, उनले भने, ‘भाषा संस्कृति भनेका हाम्रा पहिचान हुन् यिनको संरक्षण र जगेर्ना गर्न सकेनौँ भने पहिचान गुम्छ । त्यसैले यसको जगेर्ना गर्न जरुरी छ ।’

जिरेल समुदायको भाषा, संस्कृति लोप हुने खतरा भएका बेला प्रतिष्ठानले कार्यक्रम गरेर जगेर्ना गर्ने प्रयत्न गरेकाप्रति प्रमुख जिरेलले कृतज्ञता समेत व्यक्त गरे ।

SHARE