विराज भट्टको ‘राम नाम सत्य’ टिजर सार्वजनिक, एक्सन र बदला कथाको संकेत

काठमाडौं । विराज भट्टको मुख्य अभिनय रहेको फिल्म राम नाम सत्यको टिजर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक गरिएको टिजरमा मुख्य रूपमा एक्सन दृश्यहरूलाई केन्द्रमा राखिएको छ।

टिजर विराजको भ्वाइसओभरबाट सुरु हुन्छ। त्यससँगै प्रस्तुत दृश्यहरूले फिल्मको शैली र कथावस्तुबारे संक्षिप्त संकेत दिन्छन्। अरूको आक्रमणबाट आफ्ना नजिकका व्यक्तिहरू गुमाएपछि त्यसको बदला लिन नायकले गर्ने संघर्ष फिल्मको मूल कथावस्तु रहेको झल्को टिजरले दिन्छ।

टिजरको मध्य भागमा नायकले प्रतिरोध गर्दै लडाइँमा उत्रिएका दृश्यहरू देखाइएका छन्। शारीरिक भिडन्त, हातहतियारको प्रयोग र तीव्र गतिका मूभमेन्टले कथा–केन्द्रित द्वन्द्वलाई अघि सार्छन्। संगीतको तालसँग मिलाइएका ती दृश्यहरूले सस्पेन्सको अनुभूति थप बढाएका छन्।

फिल्ममा विराजसँगै सुनील थापा, सुशील श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझीआयुष सिंह ठकुरीलगायत कलाकारको अभिनय रहेको छ। टिजरमा फिल्मका शीर्ष कलाकारहरूलाई देखाइएको छ।

यो फिल्म छायांकनका हिसाबले अभिनेता सुनील थापाको अन्तिम फिल्मसमेत रहेको जनाइएको छ।

माइकल चन्दको निर्देशनमा बनेको फिल्मका निर्माता उपेन्द्र शाहीश्वेता विमली हुन्। माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्टअर्जुन सुनार छन्। फिल्मका क्रियटिभ निर्माता मोती कार्की हुन् भने लाइन प्रोड्युसर राजेन्द्र आचार्य रहेका छन्।

निर्देशक चन्दकै कथा र पटकथा रहेको फिल्ममा मानकृष्ण महर्जन डीओपी, श्री श्रेष्ठ एक्सन निर्देशक, बन्दे प्रसाद सम्पादक र काला चरण बीजीएम कम्पोजर रहेका छन्। टिजर साहिल खानले तयार पारेका हुन्।

फिल्म आगामी नेपाली नयाँ वर्षको अवसर पारेर चैत २७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।