चितवनमा हत्या वा आत्महत्या के हो भन्ने विषय बाहिर ल्याइयोस्: ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा छात्रावासमा बालिका मृत भेटिएको घटना हत्या वा आत्महत्या के हो भन्ने विषय बाहिर ल्याउन माग गरेका छन्।अध्यक्ष ओलीले शनिबार सामाजिक सञ्जामा मृतक बालिकाको तस्बिर राखेर घटनाले आफूलाई बेचैन बनाएको र सत्य तथ्य केहो चाँडो बाहिर ल्याउन माग गरेका हुन्।

‘यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस्। परिवार र आफन्त अत्यन्त पीडित छन्। हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौं,’ अध्यक्ष ओलीले भनेका छन्।

गत शनिबार बिहान रत्ननगर नगरपालिका-१५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेल होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

घटनापछि प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन्।

सालिनका आफन्तले किटानी जाहेरी दिएपछि पक्राउ परेका तीनै जनाविरूद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले सात दिनको म्याद थप भएको छ।आजै चितवन प्रहरीले पनि विज्ञप्ति जारी गरेर घटनाबारे अनुसन्धान भइरहेकाले सामाजिक सञ्जाल र सञ्चार माध्यममा अनुसन्धान प्रभावित हुनेखालका विषय सम्प्रेषण नगर्न आग्रह गरेको छ।

SHARE