संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर आज विश्व हिमनदी दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर आज विश्व हिमनदी दिवस मनाइँदैछ। हिमनदीको महत्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष मार्च २० मा मनाउने गरिएको हो।

पृथ्वीको पारिस्थितिक प्रणालीका लागि अत्यन्त महत्वपूर्ण मानिने हिमनदीहरू ताजा पानीका प्रमुख स्रोतका रूपमा रहेका छन्। साथै, समुद्री सतह सन्तुलनमा राख्न र जैविक विविधता संरक्षण गर्न पनि हिमनदीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार हिमनदी विश्वभरका करोडौँ मानिसका लागि पानीको आधार हुन्। तर पछिल्लो समय बढ्दो विश्वव्यापी तापक्रमका कारण हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्, जसले पानीको अभाव, समुद्री सतह वृद्धि तथा बाढी र पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम बढाइरहेको छ।

विश्वव्यापी पारिस्थितिक प्रणाली, मानव जीवनयापन र अर्थतन्त्रमा गम्भीर असर पार्ने खतरा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघले यस चुनौतीलाई सम्बोधन गर्न हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको छ।