काठमाडौं । मुलुकले शुक्रबार नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज मध्याह्न १२ः३४ बजे राष्ट्रपति रामचन्द्र पौडेल ले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह लाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ।
त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको औपचारिक जानकारी गराइनेछ। शपथ ग्रहण समारोहलाई विशेष बनाउन सात जना ब्राह्मणद्वारा शंखनाद, १०८ बटुकबाट स्वस्तिवाचन तथा १६ भिक्षुहरूद्वारा अष्टमंगल पाठ गरिने कार्यक्रम छ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो। समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जितेको थियो। सोही आधारमा बिहीबार नेता शाहलाई संसदीय दलको नेता चयन गरिएको हो।
प्रतिनिधिसभा निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए। यसअघि बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।









