काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
न्यायाधीश जगतबहादुर पौडेल को इजलासले आइतबार म्याद थपको आदेश दिएको हो। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठ का अनुसार चैत २१ गतेदेखि लागू हुने गरी पाँच दिन हिरासतमा राख्न अनुमति प्रदान गरिएको छ।
ज्यान सम्बन्धी कसुरको अनुसन्धानअन्तर्गत दुवै जनाको बयान लिइसकिएको भए पनि थप प्रमाण संकलन तथा अनुसन्धानका कार्यहरू बाँकी रहेकाले म्याद थप गरिएको अदालतले जनाएको छ।
चैत १४ गते पक्राउ परेका ओली र लेखकको यसअघि दुई पटक म्याद थप भइसकेको थियो। पहिलो पटक ५ दिन र त्यसपछि २ दिन म्याद थपिएकोमा आइतबार तेस्रो पटक ५ दिनको म्याद थप गरिएको हो।
यसैबीच, दुवैले आफूहरूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गर्दै सर्वोच्च अदालत मा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्। उक्त रिटमाथि आइतबार सुनुवाइ भई हेर्दाहेर्दैमा राखिएको छ।
भदौ २३ गते भएको जेनजी आन्दोलन सम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले अनुसन्धान तथा अभियोजन गर्न सिफारिस गरेपछि मन्त्रिपरिषद्ले चैत १३ गते उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।









