काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत उनले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका हुन्।
सार्वजनिक विवरणअनुसार, शाहकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं महानगरपालिका–९ मा ५ आना जग्गा तथा धनुषामा १.२ विघा जमिन रहेको उल्लेख छ। त्यस्तै उनका बुवा रामनारायण शाहको नाममा महोत्तरी जिल्लामा ९ विघा जग्गा रहेको विवरणमा जनाइएको छ।
प्रधानमन्त्री शाहले आफ्नी श्रीमती सवितासँग संयुक्त रूपमा ९० तोला सुन रहेको उल्लेख गरेका छन्। उक्त सम्पत्तीको स्रोत पैतृक भएको उनले बताएका छन्।
त्यसैगरी, शाहले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ मौज्दात रहेको खुलाएका छन्। उनले आफ्नो आम्दानीको स्रोत फेसबुक, युट्युब र स्पोटिफाइबाट हुने आम्दानी रहेको उल्लेख गरेका छन्।
सम्पत्ती विवरणमा उनले सामाजिक सञ्जाल-फेसबुक, युट्युब र ट्वीटर-मा रहेका आफ्ना फलोअर संख्यासमेत उल्लेख गरेका छन्।









