काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिँदै गएसँगै निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ। चुनाव अब ९० दिन मात्र बाँकी रहँदा राजनीतिक दलहरूले पनि आन्तरिक संगठन तथा उम्मेदवार छनोट प्रक्रियालाई गति दिएका छन्।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम शनिबारदेखि नै सञ्चालन हुँदैछ। सोअनुसार मंसिर २१ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिन सक्नेछन्। दर्ता भएका दलहरूको सूची भने मंसिर २४ गते प्रकाशित गरिनेछ।
त्यस्तै, दलहरूले पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्दसूची प्रस्तुत गर्नुपर्नेछ। आयोगले माघ ३० गते समानुपातिक उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ। यसबारे प्रवक्ता नारायणप्रसाद भट्टराईले आवश्यक सबै प्रक्रिया समयमै अघि बढाइने बताए।
उता, प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम पनि स्पष्ट गरिएको छ।
माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता तथा प्रारम्भिक सूची प्रकाशन
माघ ७ गते मनोनयनविरुद्ध उजुरी दिने अवधि
माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन
माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन पाउने र सोही दिन अन्तिम नामावली तथा निर्वाचन चिह्न प्रदान गरिनेछ।
निर्वाचन मिति नजिकिँदै जाँदा दलहरूको गतिविधि तिब्र बन्दै गएको छ भने आयोगले तयारीलाई अन्तिम चरणमा पुर्याउने प्रक्रियालाई गति दिएको छ।









