काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी ११ देखि १५ मंसिरसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो।
बैठकले पार्टीको संगठनात्मक संरचना सुदृढ गर्न चरणबद्ध कार्यतालिका समेत सार्वजनिक गरेको छ। एक नेताका अनुसार जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका, वडा तथा जनसंगठनहरूको संगठनात्मक समायोजनको काम सम्पन्न गरिनेछ।
त्यसपछि असारदेखि साउनसम्म श्रम शिविर सञ्चालन गर्ने, सदस्यता नवीकरण गर्ने तथा तल्लो तहका अधिवेशनको तयारी गरिने उल्लेख गरिएको छ।
निर्धारित तालिकाअनुसार १५ भदौसम्म वडा अधिवेशन सम्पन्न गरिनेछ भने भदौ मसान्तसम्म पालिका अधिवेशन सकिनेछ। त्यसैगरी असोज मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने र १५ कात्तिकसम्म प्रदेश अधिवेशन टुंग्याइनेछ।
यी सबै चरण पूरा भएपछि ११–१५ मंसिरमा राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ। महाधिवेशनसम्बन्धी विस्तृत कार्यविधि भने पछि सार्वजनिक गरिने पार्टीले जनाएको छ।








