काठमाडौं। सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेल ले कानुनविद्हरूसँग परामर्श थालेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार भइरहेको छलफलबारे प्रवक्ता रितेशकुमार शाक्यले पुष्टि गरेका छन्।
‘अहिले छलफल भइरहेको छ,’ प्रवक्ता शाक्यले भने।
राष्ट्रपति पौडेलले परामर्शका लागि वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, टिकाराम भट्टराई, पूर्णमान शाक्य, भिमार्जुन आचार्य, बिपिन अधिकारी र शेरबहादुर केसी लाई बोलाएका छन्।
यसअघि राष्ट्रपतिले सरकारको सिफारिसका आधारमा सहकारीसम्बन्धी अध्यादेश जारी गरिसकेका छन्। बाँकी अध्यादेशहरूबारे भने थप संवैधानिक र कानुनी परामर्श लिन खोजिएको राष्ट्रपतिनिकट स्रोतले जनाएको छ।
सरकारले संवैधानिक परिषद्, केही नेपाल ऐन संशोधन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय तथा सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेश पनि राष्ट्रपतिसमक्ष पठाएको छ। ती विषयमा निर्णय लिनुअघि राष्ट्रपतिले विज्ञहरूसँग व्यापक छलफल गरिरहेका हुन्।









