जिरी । दोलखा जिल्लाको शैक्षिक धरोहरका रूपमा स्थापित जिरी माध्यमिक विद्यालयले वि.सं. २०१७ सालदेखि निरन्तर शिक्षा, सीप र ज्ञान प्रवाह गर्दै आएको छ। स्थापना कालदेखि नै दोलखा, रामेछाप र सोलुखुम्बुका विद्यार्थीहरूलाई शैक्षिक उज्यालो प्रदान गर्दै आएको यस विद्यालयले आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल व्यक्तित्व उत्पादन गर्दै आफ्नो गरिमा कायम राखेको छ।
विद्यालयलाई “ज्ञानको मन्दिर” का रूपमा व्याख्या गर्दै यहाँ सबैको पहुँच खुला रहेको उल्लेख गरिएको छ। तर पछिल्ला करिब दुई दशकदेखि नैतिक शिक्षाको अभावले समाजमा नैतिकताको कमी महसुस हुन थालेको चिन्ता व्यक्त गरिएको छ।
भौतिक पूर्वाधारको हिसाबले विद्यालय नमुनायोग्य अवस्थामा पुगेको छ भने शैक्षिक नतिजाका आधारमा जिल्लाका सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट संस्थाका रूपमा परिचित छ। यस सफलताको श्रेय विद्यार्थीको मेहनत, अभिभावकको सहयोग, विद्यालय व्यवस्थापन समितिको मार्गदर्शन तथा शिक्षकहरूको समर्पणलाई दिइएको छ।
तर नवनिर्मित संरचनासँगै सञ्चालन खर्च पनि बढेको छ। मासिक विद्युत् शुल्क मात्र ३५ हजारदेखि ४४ हजार रुपैयाँसम्म पुग्ने गरेको छ भने सरसफाइ, मर्मतसम्भार र शिक्षक व्यवस्थापनमा निजी स्रोतमा निर्भर रहनुपरेको अवस्था छ। सरकारी अनुदान अभावका कारण अभिभावक र दाताहरूको सहयोग नै मुख्य आधार बनेको विद्यालयले जनाएको छ।
यसबीच सामाजिक सञ्जालमा केही व्यक्तिहरूबाट विद्यालयप्रति नकारात्मक टिप्पणी भइरहेकोप्रति असन्तुष्टि व्यक्त गरिएको छ। विद्यालयले यस्ता टिप्पणीहरूको प्रत्यक्ष बहस र प्रष्टिकरणका लागि सधैं तयार रहेको स्पष्ट पारेको छ। विशेषगरी विद्यालयसँग प्रत्यक्ष सम्बन्ध नराख्ने व्यक्तिहरूबाट आलोचना बढी आएको आरोप पनि लगाइएको छ।
विद्यालयले सकारात्मक सुझावलाई स्वागत गर्दै आगामी दिनमा सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक अभिव्यक्तिहरू संकलन गरी अभिलेखीकरण गर्ने योजना अघि सारेको छ। यसका लागि पाँच वर्षसम्म नियमित रूपमा सामग्री संकलन गरिने र पुस्तकालयमा सुरक्षित राखिने जनाइएको छ। भविष्यमा अनुसन्धानकर्ताहरूका लागि उपयोगी दस्तावेज तयार गर्ने उद्देश्य राखिएको छ।
प्रधानाध्यापक कुमार जिरेल सामाजिक सञ्जालमा लेख्नुहुन्छ
थाम्नै सकिएन आज लेखेँ ।
वि.सं. २०१७ सालमा स्थापना भएको जिरी माध्यमिक विद्यालय इतिहासका विभिन्न कालखण्ड पार गर्दै वर्तमान अवस्थासम्म आइपुगेको छ । यस विद्यालयले स्थापना कालदेखि नै दोलखा, रामेछाप, सोलुखुम्बु जिल्लाहरुमा बसोबास गर्ने शिक्षाका भोक जागेका नागरिकहरुलाई निरन्तर शिक्षा, सीप र ज्ञान प्रदान गर्दै आइरहेको छ ।यस विद्यालयबाट शिक्षा प्राप्त शिक्षार्थीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा सत्कर्मको दियोका साथ चम्किरहे कै छन् ।यसैमा विद्यालय गौरव गरिरहेको छ । विद्यालय ज्ञानको मन्दिर हो । यस मन्दिरमा सबैको सहभागिता र उपस्थित खुल्ला हुन्छ । मन्दिरको दर्शन के कसरी गर्ने र फल कसरी, कतिसम्म प्राप्त गर्ने भन्ने व्यक्तिगत स्वभावमा निर्भर होला। विद्यालयमा नैतिक शिक्षाको पठनपाठन नभएको लगभग दुई दशक भएर होला समाजमा नैतिकताको खडेरी लागेको अनुभूति सबैमा हुन थालेको छ ।
हाल विद्यालयको भौतिक पूर्वाधार नमुनायोग्य रहेको छ । नतिजाको कसीमा मूल्याङ्कन गर्दा सामुदायिक विद्यालयहरुमध्ये जिल्लामा उत्कृष्ट नतिजा प्राप्त शैक्षिक संस्थाको रुपमा परिचित छ । यस उपलब्धि विद्यार्थीको लगन, अभिभावकको सहयोग, विव्यसको सकरात्मक मार्गदर्शन र शिक्षकहरुको पेशाप्रतिको जिम्मेवारीबाट प्राप्त भएको हो ।विद्यालयको नवनिर्मित भौतिक पूर्वधार प्राप्तिसँग यसको सञ्चालन खर्च अत्यधिक रहेको छ । मासिक विद्युत महशुलमा मात्र ३५ हजारदेखि ४४ हजारसम्म खर्च भइरहेको छ ।सरसफाइ र मर्मत सम्भरमा नियमित खर्च भइरहेका छन् । दरबन्दी र विषयगत शिक्षकका अभावमा निजी स्रोतबाट मावि र प्राथमिक तहमा शिक्षकहरु र सरसफाइ लगायतका लागि विद्यालय सहयोगीहरु कार्य सञ्चालन भइरहेको छ । नेपाल सरकारबाट यी स्रोतहरुमा कुनै अनुदान छैन । यसको स्रोत सहयोगी अभिभावक तथा दाताहरु नै हुन् । यस अवस्थाको जानकारी विद्यालयका ९९ प्रतिशत अभिभावकहरुमा रहेको छ । तर सामाजिक सञ्जालमा सकरात्मक सोच विकासको चरण पार हुन नसकेका केही कलुषित भावरुपी मनुवाहरुबाट विद्यालयप्रति नकरात्मक टीकाटिप्पणी भइरहेको अनुभूत भएको छ । प्रत्यक्ष बहस र प्रष्टिकरणका लागि सधैँ तयार रहेको छ । टिप्पणीकारको पङ्तिलाई नियाल्दा जसका बालबालिका यस विद्यालयमा छैनन् सहरका महँगा विद्यालयमा अध्ययन गर्छन् ।ती उभिएको देख्छु ।जो विद्यालयमा पाइला टेक्नु त पराइ जाओस् देख्न समेत पाएका छैन उसको हात्ती छमाइको गहन विश्लेषण हेर्छु । केही यही विद्यालयबाट क ख सिकेर लेख्न सक्ने भएका छन् तर तिनलाई आकाशतिर फर्केर थुक्दा छिटा आफैतिर पनि पर्छ भन्ने ज्ञान छैन ।खैर जे भए पनि ९९.९९ प्रतिशत अभिभावक, शुभचिन्तक, पूर्व विद्यार्थी, पूर्व शिक्षकहरु तथा समुदायको माया सद्भाव र सकरात्मक राय सुझावले विद्यालयलाई अझ नमुना विद्यालय बन्ने बनाउने अभिप्रेरणा जागृत भएको छ । यस वर्षमा लगभग १०० को हाराहारीमा विद्यार्थी थपिने सम्भावना छ। यसबाट हामी अझ उत्साहित भएका छौँ । विद्यालयप्रतिको विस्वास सम्पूर्ण अभिभावकमा धन्यवाद् प्रकट गर्दछु । साथै सकरात्मक टिप्पणी कर्ताहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।
सामाजिक सञ्चालमा अरुलाई होच्याइ, आफू सर्वेसर्व र बुज्रुक हुँ भनाउँदाका मनचिन्ते प्रवृत्तिले समाज अधोगतितिर लम्किरहेको त छैन ? समाजबाट बालबालिकाहरुले के सिक्ने र विद्यालयले के सिकाउने ? यस विषयको गहन अध्ययन आवश्यक भइसकेको छ । त्यसैले आगामी दिनमा सामाजिक सञ्जालको प्रयोगको ख्याल नगर्ने विद्वान महोदयहरुको स्क्रिन सट प्रिन्ट गरी विद्यालयको पुस्तकालयमा अभिलेखीकरण गर्ने अभियानमा लाग्ने छु ।विद्यालयको पुस्तकालयमा विगत ६० वर्षदेखिका पुस्तक तथा रचनाहरुको अभिलेख रहेका छन् । ५ वर्षसम्म समाजका अगुवा लगायतबाट सामाजिक सञ्जालबाट गरिने सकरात्मक र नकरात्मक अभिव्यक्तिहरु सङ्कलन गरी अभिलेखीकरण गर्ने अभियानमा निरन्तर लाग्ने छु । यसका लागि मासिक एक रिम पेपरको खर्च आफ्नै आम्दानीबाट गर्ने छु । यस कार्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु । भविष्यमा सामाजिक सञ्चाल प्रयोगको सदुपयोग कि दुरुपयोग सम्बन्धमा अध्ययन गर्ने वा शोध गर्ने शोधार्थीहरुको आवश्यक दस्तावेजको पूर्ति यस अभिलेखले गर्ने विश्वास लिएको छु ।
अन्तमा सकरात्मक भाव सम्प्रेषकहरुप्रति कृतज्ञता प्रकट गर्दछु ।
धन्यवाद्