काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुराना दल गलत भएकाले नयाँ दल चाहिन्छ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको बताएका छन्।
शनिबार आयोजित पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले पछिल्लो समय राजनीतिक वृत्तमा उठाइएको नयाँ र पुराना दलको बहस वास्तविक समस्याबाट ध्यान मोड्ने प्रयास भएको टिप्पणी गरे। उनका अनुसार नेपालमा समस्या दलको संख्या वा नामसँग नभई राज्यसत्ताको चरित्रसँग जोडिएको छ।
“यहाँ दलसँग समस्या होइन, जनताले चाहेको त आफ्नो सेवा गर्ने सत्ता हो। आफ्नो पक्षमा निर्णय गर्ने, न्यायपूर्ण ढंगले फैसला लिने सत्ता चाहिएको हो,” चन्दले भने, “जनताले नयाँ वा पुराना दलको कुरा गरेका होइनन्।”
उनले पुराना दलहरूले भ्रष्टाचार र विकृतिलाई जन्म दिएको तथ्य स्वीकार गरे पनि नयाँ दल आएपछि मात्रै अवस्था स्वतः सुध्रिन्छ भन्ने धारणा गलत रहेको बताए। जनतामा नयाँ दलप्रति देखिएको आशा केही हदसम्म पुराना दलको असफलताबाट जन्मिएको भए पनि पुरानो राज्यसत्ता यथावत रहेसम्म समस्या समाधान नहुने उनको भनाइ थियो।
“मान्छे उमेरले पुरानो हुन सक्छ, तर उसले बोकेको विचार के हो भन्ने कुरा महत्वपूर्ण हुन्छ,” उनले भने, “पुरानो नेता–नयाँ नेताको बहस पनि अहिलेको समस्याको निकास दिने बहस होइन। यो पनि जनतालाई अलमल्याउने, गुलियो पोतेको नारा मात्रै हो।”
चन्दले पुरानो सत्ता संरचना बदल्ने दृष्टिकोण भएका, विकृति र भ्रष्टाचारसँग जुध्न सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै नयाँ भनिने दल र नेताबाट त्यस्तो स्पष्टता नदेखिएको प्रश्न उठाए।










