दोलखा । नबिन सुनुवार ।
दोलखामा आजदेखि तेस्रो बृहत दोलखा महोत्सव २०८१ सुरु भएको छ । जिल्लाको सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा आज एक औपचारिक कार्यक्रमकाबिच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गर्नुभएको हो ।
दोलखा उद्योग बाणिज्य संघको आयोजनामा भैरहेको महोत्सव १८ गतेसम्म १३ दिन सञ्चालन हुने दोलखा उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवले आन्तरिक उत्पादनको प्रबद्र्धनका साथै जिल्लाको सुस्ताउँदो व्यापार व्यवसायलाई थप चलायमान बनाउने अपेक्षा गरिएको संघका पूर्बअध्यक्ष रामेश्वर मानन्धरले जानकारी दिनुभयो ।
महोत्सवमा १४० वटा स्टल राखिएको छ भने जसमा स्थानीय उद्यमिको लागि ६२ वटा स्टल छुट्याईएको संघले जनाएको छ । जिल्लाको व्यापार, व्यवसाय र बजारलाई चलायमान बनाउनुका साथै जिल्लाका स्थानीय उत्पादनहरुको प्रदर्शन गरी प्रचार प्रसार तथा बिक्री वितरण गरिने, धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रबद्र्धन गर्ने महोत्सवको मुख्य उदेश्य रहेको अध्यक्ष इन्द्र श्रेष्ठको भनाई छ ।
दोलखा महोत्सवमा झाँकीको प्रदर्शनीका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रर्दशनी रहनेछ । महोत्सवमा बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, जिल्ला स्तरीय लोक दोहोरी तथा जातीय भेषभूषा प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेछ ।










