तामाङ पत्रकार संघ काठमाडौं शाखाको अध्यक्षमा हिरोज लोप्चन सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बौद्धमा भएको शाखाको चौथो अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
दोलखाका लोप्चन पत्रकारितासँगै कलाकारिता क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन् । उनले म्यूजिक भिडियो र तामाङ भाषाका चलचित्रमा अभिनय गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष लोप्चन धर्म टेलिभिजन, युनिभर्सल टेलिभिजन, विभिन्न अनलाइन सञ्चारमाध्यम हुँदै हाल खुल्लापत्र डटकममा कार्यरत छन् ।
उनले काठमाडौं शाखालाई चलायमान गर्दै नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । ‘हामी कार्ययोजना बनाएरै जानेछौँ’, उनले भने, ‘अग्रजहरूले देखाउनुभएको बाटोलाई पहिल्याउने छौँ । साथ र सल्लाह लिनेछौँ ।’
शाखाको उपाध्यक्षमा किशोरी लामा निर्वाचित भइन् भने सचिवमा रोशन लामा निवार्वाचित भए । सहसचिवमा रामबहादुर तामाङ निर्वाचित भए ।
यसैगरी कोषाध्यक्ष सुशिला तामाङ भइन् ।
सदस्यमा सीमा तामाङ, रीना मोक्तान, वीरमान बल रहेका छन् । बाँकी तीन जना सदस्य मनोनित गरिने बताइएको छ ।
यसैगरी अधिवेशनमा ‘तामाङ मिडिया अवार्ड’बाट इकान्तिपुरमा कार्यरत रीना मोक्तान सम्मानित भइन् । त्यस्तै तामाङ पत्रकार संघ काठमाडौं शाखाका संस्थापक अध्यक्ष युनिकरक्षे ग्लान र रेडियो सिन्धुकर्मी अस्मी स्याङ्तान पनि सम्मानित भए ।










