नारायणगढ (चितवन)। नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ। सङ्घको शुक्रबार काठमाडौंमा बसेको भौतिक तथा भर्चुअल बैठकले शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श र सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानेर नयाँ दररेट तय गरिएको हो।
नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ, मिडियम अण्डाको ५१५ रुपैयाँ र सानो अण्डाको प्रतिपेटी ३ हजार रुपैयाँ कायम गरिएको छ। यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब २५ रुपैयाँ पुगेको छ।
सङ्घले व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव र बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर मूल्य समायोजन गरिएको बताए।
पछिल्लो एक महिनामा अण्डाको मूल्य उल्लेख्य रूपमा बढेको छ। वैशाख २४ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४६५ रुपैयाँ रहेकामा अहिले ५६० रुपैयाँ पुगेको छ, जुन करिब २० प्रतिशत वृद्धि हो। त्यस्तै ठूलो अण्डाको मूल्य ४९० बाट ५४५ रुपैयाँ, मिडियम अण्डाको ४०० बाट ५१५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी मूल्य २ हजार ३०० बाट ३ हजार रुपैयाँ पुगेको छ।
सङ्घका अनुसार पछिल्ला साताहरूमा उत्पादन घट्नु र बजारमा माग बढ्नु मूल्य वृद्धिका प्रमुख कारण हुन्। दाना, औषधि तथा अन्य उत्पादन सामग्रीको लागत बढ्दै जाँदा मूल्य समायोजन अपरिहार्य बनेको अध्यक्ष पोखरेलको भनाइ छ।
हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा रहेको सङ्घले जनाएको छ। नयाँ समर्थन मूल्य लागू भएसँगै किसानले लागत नजिकको मूल्य पाउन थालेका छन्। लामो समयपछि बिक्री मूल्य उत्पादन लागतको हाराहारीमा पुगेकाले किसानलाई केही राहत मिलेको पोखरेलले बताए।
उनका अनुसार पर्यटक आगमनमा वृद्धि, सीमा क्षेत्रमा अण्डाको आयात तथा ओसारपसारमा कडाइ र आन्तरिक बजारमा बढ्दो मागले पनि मूल्य सुधारमा सहयोग पुगेको छ।
किसानले लागत नजिकको मूल्य पाए पनि उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी सहयोग तथा नीतिगत समर्थन आवश्यक रहेको सङ्घले जनाएको छ। उत्पादन लागत घटाउने र बजारलाई व्यवस्थित बनाउने उपाय अवलम्बन गर्न सके हालको मूल्य अवस्था कायम रहन सक्ने अध्यक्ष पोखरेलको धारणा छ।









