काठमाडौं । हङकङस्थित नेपाली साहित्यप्रेमीहरूका लागि आगामी असार २१ गते (जुलाई ५) कवि उत्तम तुम्सा लिम्बुको कविता कन्सर्ट आयोजना हुने भएको छ।
द नेप्लिज एसोसिएसन हङकङको आयोजनामा जोर्डनस्थित एभरेस्ट रेस्टुरेन्ट एन्ड बारमा दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रममा हङकङमा बसोबास गर्ने नेपाली समुदाय, साहित्यप्रेमी तथा कविताका पारखीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
आयोजकले हङकङवासी सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई कविताको जीवन्त स्वाद लिन आग्रह गरेको छ।
धनकुटाको कुरुलेतेनुपामा जन्मिएका लिम्बु समकालीन नेपाली कविताका सशक्त र विशिष्ट आवाजका रूपमा परिचित छन्। कवितालाई पुस्तकका पानामा मात्र सीमित नराखी प्रस्तुती कलामार्फत मञ्चसम्म पुर्याउनुपर्ने मान्यता राख्ने उनी कविता वाचनका माध्यमबाट पनि लोकप्रिय छन्।
उनका कवितामा पहाड, नदी, जंगल, संस्कृति, पहिचान, प्रेम र मानवीय संवेदनाका विषयहरू प्रमुख रूपमा अभिव्यक्त हुने गरेका छन्। उनका प्रस्तुतीमा शब्द, लय, सङ्गीत र जीवनानुभूतिको समिश्रण देखिने भएकाले उनी पाठक र श्रोतामाझ समान रूपमा रुचाइएका कवि मानिन्छन्।
वि.सं. २०७३ मा कविता सङ्ग्रह प्रकाशित गरिसकेका लिम्बुले नेपालका विभिन्न सहर र जिल्लामा पुगेर दर्जनौँ कविता कन्सर्ट प्रस्तुत गरिसकेका छन्। उनी युवा स्रष्टाहरूको साहित्यिक अभियान ‘सम्भव समूह’सँग पनि आबद्ध छन्।
उनले सन् २०१७ मा आयोजित सार्क साहित्य सम्मेलनमा नेपाली कविताको प्रतिनिधित्वसमेत गरेका थिए। उनको सिर्जना र वाचनकलाको अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा हुँदै आएको छ।
द नेप्लिज एसोसिएसन हङकङका अध्यक्ष प्रदीप थापाका अनुसार कार्यक्रम केवल कविता वाचनमा सीमित नरही नेपाली भाषा, साहित्य, संस्कृति र पहिचानप्रतिको आत्मीयता साटासाट गर्ने साझा थलोका रूपमा रहनेछ।









